• वैशाख २३, २०८१ आइतबार
    05 May, 2024, Sunday

    भोज खाँदा एकको मृत्यु, २९ बिरामी


    २०८० मंसिर २४, आइतबार

    २०८० मंसिर २४, आइतबार

    लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको मृत्यु भएको छ भने २९ जना बिरामी भएका छन् ।

    बेँसीसहर नगरपालिका – ४ पुरानोकाट घर भई हाल सुन्दरबजार नगरपालिका – ९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिनुभयो ।

    प्रहरी निरीक्षक चापागाईँका अनुसार सुन्दरबजार नगरपालिका – ८ स्थित क्षेत्रबहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा आयोजना गरिएको सामूहिक भोजमा परियारले पनि खाना खानुभएको थियो । त्यसपछि उहाँलाई टाउको दुख्ने, ज्वरो आउने र तारन्तार पखाला लागेपछि आज बिहान सुन्दरबजारको एचडिसीएस नमूना सामुदायिक अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा ल्याउनेबित्तिकै निजलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

    अस्पतालका अनुसार मृतक परियारका श्रीमान् देवु , १२ वर्षीया छोरी विद्यासहित २९ जना हाल उक्त अस्पतालमा उपचारत छन् । भोज खाएका सोही पालिकाको वडा नं ८ र ९ का बासिन्दा शनिबारदेखि बिरामी पर्न थालेपछि उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

    प्रहरीका अनुसार भोजमा ४० जना सहभागी थिए । भोजमा भात, कालो दाल, कुखुराको मासु र मूलाको अचार खाएका थिए । अस्पतालका बिरामी आउने क्रम जारी छ । घटनाको अनुसन्धान भइरहेको छ । रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर