• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    कांग्रेसभित्र कुनै तरङ्ग ल्याउने मेरो इच्छा छैन : अध्यक्ष ओली


    २०८० पुष १६, सोमबार

    २०८० पुष १६, सोमबार

    काठमाण्डाैंः प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ कांग्रेसभित्र आफूले चलखेल गर्न नचाहेको बताउनुभएको छ ।

    राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आज सोमवार काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेसभित्र कुनै राजनीतिक तरङ्ग ल्याउने इच्छा आफूमा नभएको टिप्पणी गर्नुभएको हो । कांग्रेस सत्ताको अमनचयनमा रहेकाले त्यसमा खलल पार्न पनि आफूलाई मन नलागेको उहाँले भनाइ थियाे ।

    उहाँले भन्नुभयो, ‘अहिलेका राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको नेपाली कांग्रेसको तलाउमा एउटा ढुङ्गा फुत्त फालिदिएर कुनै तरङ्ग ल्याउने मेरो इच्छा छैन । कुनै अमनचयनमा खलल पार्न पनि चाहन्न । त्यस सीमाभित्र मात्रै म बोल्छु ।’

    कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले देशलाई आवश्यक नभएको ठूल्ठूला ‘भ्यु टावर’ बनाएको भन्ने अभिव्यक्तिप्रति कटाक्ष गर्दै ओलीले कांग्रेसको नीति एकतले घर मात्रै बनाउने हो भनी प्रश्नसमेत गर्नुभयो ।

    उहाँले भन्नुभयाे, ‘विश्वप्रकाशजीले अग्ला घर किन बनाइस् ? कलकता जान गङ्गाको बाटो किन खनिस् ? ट्रक कुदाउनुपर्ने ठाउँमा पाइपलाइन अमलेखगञ्जमा किन ल्याइस् ? ट्याङ्कर चलाउनुपर्ने ठाउँमा त्यो काम किन गरिस् ? बयलगाडा चलाइराखेका थिए, हुलाकी राजमार्ग किन बनाइस् ? त्यत्रो साढे आठ लाख पुनर्निमित घरहरू त्यति छोटो अवधिमा बनाएर पीडितहरूलाई किन हस्तान्तण गरिस् भनेर भन्नुभयाे । उहाँले आफ्नो प्रचलित शैलीमा ललकार्नुभयो । त्यसको पनि म जवाफ दिन्न । म कुनै विवादास्पद कुरा गर्न पनि आवश्यक ठान्दिन । यत्ति हो, यो देशमा कहिले–कहिले खतरा आउँछ कि भनेर झस्किन्थेँ ।’

    अध्यक्ष ओलीले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जिम्मेवार रहेको दाबी गर्नुभयाे । मन्त्री ज्वाला पुगेपछि भीड उत्तेजित हुँदा प्रहरीको गोली लागेर दुई जना युवाको ज्यान गएको उहाँकाे भनाइ थियो ।

    ओलीले एमालेले राष्ट्रियताको प्रश्न, देशको सुशासन, समृद्धि र विकासको प्रश्नमा राजनीतिक दलहरूसँग मलेमिलाप गरेर अघि बढ्न चाहेको उल्लेख गर्नुभयाे ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर