काठमाण्डौं, ०३ जेठ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उप–महासचिव प्रदीप ज्ञवालीले देशले विभिन्न प्रतिकूलता भोगिरहेको भए पनि समृद्धिको यात्रामा अघि बढिरहेको बताएका छन्। धुर्कोट गाउँपालिका–३ स्थित बोमबहादुर–टोमलाल स्मृति प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन गर्दै ज्ञवालीले विकासको बाटो रोक्न चाहने शक्तिहरूको भ्रम चिर्दै देश निर्माणमा एमाले अघि बढिरहेको बताए।
“देश बन्दैन भन्नेहरु गलत छन्,” ज्ञवालीले भने, “हामीले विगतका द्वन्द्व, भूकम्प, नाकाबन्दी, बाढीपहिरो जस्ता कठिनाइहरू पार गर्दै जनताको पक्षमा काम गरिरहेका छौँ।”
उनले एमालेले समृद्ध नेपाल निर्माणको संकल्पसहित शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा उल्लेखनीय कार्य गरिरहेको बताए। कार्यक्रममा बोल्दै ज्ञवालीले सामाजिक अभियन्ता स्व. टोमलाल पाण्डे र बोमबहादुर खड्काको स्मरण गर्दै जनताको सेवा नै जीवनको सच्चा अर्थ हुने बताए।
“धेरै पैसा वा ठूलो ओहोदाभन्दा पनि जनताको लागि बाँचुन्जेल गरिने कर्म महत्वपूर्ण हुन्छ,” उनले भने।
कार्यक्रममा एमालेका सचिव तथा गुल्मी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टले वर्तमान सरकारको नीति तथा कार्यक्रम जनमुखी रहेको बताएका थिए। एमाले धुर्कोट गाउँ कमिटी अध्यक्ष लोबहादुर केसीले स्थानीय स्तरमा एमालेको योगदान उल्लेख गर्दै कार्यक्रमको औचित्य स्पष्ट पारे।
समारोहमा जग्गादाता हिमप्रसाद पन्थी, निर्मला बन्जाडे, फर्निचर सहयोगी खिमानन्द भण्डारी, धुर्कोट–काठमाडौँ सम्पर्क मञ्च, भवन निर्माण समिति, तथा प्रतिष्ठान निर्माणमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो।
त्यस्तै, पार्टी सदस्यता लिँदै नवीकरण गरिरहेका ७० जना ज्येष्ठ नागरिक, स्व. बोमबहादुर खड्का र टोमलाल पाण्डेयका परिवारका सदस्य तथा धुर्कोट गाउँपालिकालाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।