• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    भूतपूर्व सैनिक संघ गुल्मीको नयाँ नेतृत्व सर्वसम्मत


    २०८१ जेठ २२, मंगलबार

    २०८१ जेठ २२, मंगलबार

    गुल्मी, जेठ २२ गते । गुल्मीमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल भूतपूर्व सैनिक सङ्घको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । सोमबार यस जिल्लाको सदरमुकाम तम्घासमा भएको भूतपूर्व सैनिक सङ्घ जिल्ला कार्यसमितिको छैटाैं अधिवेशनले नयाँ कार्यसमितिलाई सर्वसम्मत चयन गरेको हो ।

    छैटाैं जिल्ला अधिवेशनबाट नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा यज्ञमूर्ति थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ । जसको उपाध्यक्षमा पशुपति पाण्डे, हुमबहादुर कुँवर र यमबहादुर खत्री निर्वाचित हुनुभयो । सचिवमा सञ्जय पहराई, सहसचिवमा दुर्गबहादुर खत्री र कोषाध्यक्षमा दम्बरबहादुर पाण्डे सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक भगतसिंह खड्काले जानकारी दिनुभयो ।

    सदस्यमा लोकबहादुर विक, तलबहादुर थापा, सीता थापा, खिमबहादुर कुँवर, बालकृष्ण क्षेत्री, गणेशप्रसाद श्रेष्ठ, निमबहादुर सर्तुङ्गे, प्रेमबहादुर माझकोटी, कर्णबहादुर रायमाझी, भीमबहादुर पहराई, तेजबहादुर पुन, रुकबहादुर राकसकोटी, ओमबहादुर ढेंगा, महेन्द्र थापा, हेमचन्द्र बुढा, दानबहादुर राना र रामबहादुर थापा सर्वसम्मत निर्वाचित हुनुभयो ।

    अधिवेशनबाट छ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरिएको छ । जसमा सन्तबहादुर खड्का, उदयबहादुर थापा, सुमेन्द्रबहादुर सिंह ठकुरी, मनिराम थापा, चन्द्रबहादुर जिसी, रामबहादुर खत्री निर्वाचित हुनुभयो । चार जना प्रदेश प्रतिनिधि चयन हुनुभएको छ । जसमा टेकबहादुर खत्री, रुद्रबहादुर केसी, रुपा थापा र रामबहादुर थापा निर्वाचित हुनुभयो । तम्घासमा सम्पन्न अधिवेशनका लागि ३०० भन्दा बढी नेपाल भूतपूर्व सैनिक सङ्घका प्रतिनिधिको सहभागिता थियो ।

    अधिवेशनको उद्घाटन गर्नुहुँदै नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले केन्द्रीय समितिको अकर्मण्यताका कारण भ्रातृ सङ्गठनहरुलाई अनिर्णयको बन्दी बनाउन नहुने बताउनुभयो । उहाँले भ्रातृ सङ्गठन सबैलाई एकताबद्ध बनाएर अघि बढे पार्टी जुरुक्क उठ्ने भन्दै केन्द्रले निर्देशन दिए प्रदेश र जिल्ला नेतृत्वले सबै भातृ र शुभेच्छुकहरू सङ्गठनहरुलाई पूर्णता दिन तयार रहेको बताउनुभयो । नेपाली कांग्रेस जिल्ला सभापति खिलध्वज पन्थीले संविधान कार्यान्वयनमा अग्रपंक्तिमा रहेको काँग्रेस पार्टीभित्र भ्रातृ सङ्गठनहरु अनिर्णयको बन्दी बन्नु दुःखद भएको भन्दै पार्टीलाई बलियो र चुस्त, दुरुस्त बनाउने गरी सबै लाग्न जरुरी रहेको बताउनुभयो ।

    नेपाल भूतपूर्व सैनिक सङ्घका केन्द्रीय अध्यक्ष मेघराज टण्डनले पार्टीको महत्वपूर्ण अङ्गका रुपमा सैनिक सङ्घ रहेको बताउनुभयो । नेपाली लुम्बिनी प्रदेश सदस्य छन्दबहादुर पहराई, भूतपूर्व सैनिक सङ्घका केन्द्रीय सदस्य उदयबहादुर थापा, नेपाल महिला सङ्घ गुल्मीका अध्यक्ष लक्ष्मी पाण्डेले सामाजिक संरचना, आर्थिक, राजनीतिक, स्वास्थ्यको क्षेत्रमा चेतनास्तर वृद्धिका भूतपूर्व सैनिकको ठुलो योगदान रहेको बताउनुभयो ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर