• वैशाख १५, २०८१ शनिबार
    27 Apr, 2024, Saturday

    सैनिक प्रदर्शनी : हाकादेखि लडाइँका साधन अवलोकनको अवसर


    २०८० फागुण २७, आइतबार

    २०८० फागुण २७, आइतबार

    काठमाण्डौं : नेपाली सेनाको सुदूरपश्चिम पृतनाको सैनिक टोलीले २६१औँ सेना दिवसका अवसरमा कैलालीको धनगढीमा आयोजित विविध सैनिक प्रदर्शनीका क्रममा ‘हाका प्रदर्शन’ गर्दा सहभागी सबैको ध्यान तान्यो । सुदूरपश्चिममा पहिलो पटक सेनाले प्रदर्शन गरेको ‘हाका’ (रण हुँकार) मा राष्ट्र, राष्ट्रियता, देश र सेनाको बखान त छँदै थियो नै त्यसमाथि युद्धका क्रममा जाँगर दिने उक्त प्रस्तुतीले सबैको मन जित्यो ।

    हाका एउटा युद्ध गीत हो, जसलाई नेपाली सेनाको पृतनाको सैनिक टोलीले पूर्ण शक्ति र भावनाका साथ प्रस्तुत गरेको थियो । हाका सामान्य नृत्य भने होइन । यो प्राचीन युद्ध नृत्यको एउटा प्रकार हो । पछिल्लो समय सैनिक कौशलता देखाउने क्रममा नेपाली सेनाले पनि हाका प्रर्दशन गर्दै आएको छ । हाकामा खुट्टा ठप्प पार्ने, जिब्रो बाहिर निकाल्ने र लयमा शरीरलाई ट्याप गरी ठूलो स्वरमा चिच्याउने गरिन्छ ।

    हाका नृत्यले युद्धमा जाने योद्धालाई प्रोत्साहन गर्ने काम पनि गर्दथ्यो । यो शारीरिक क्षमताको प्रदर्शन पनि हो । पछिल्लो समय नेपाली सेनाले उपत्यका बाहिर पनि सैनिक प्रदर्शनीलाई निरन्तरता दिँदै आएको छ । सैनिक प्रदर्शनीको उद्घाटन समारोहमा सेनाले हाकासँगै सुदूरपश्चिमसँगै मुलुककै कला, संस्कृति झल्किने झाँकी तथा नृत्य समेत प्रस्तुत गरेको थियो ।

    धनगढीस्थित रङ्गशालामा सुरु भएको सैनिक प्रदर्शनी सोमबारसम्म चल्ने सुदूरपश्चिम पृतनाले जनाएको छ । सैनिक प्रदर्शनीको उद्घाटन समारोहमा सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह, आन्तरिक मामिलामन्त्री शिवराज भट्ट, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललगायत सहभागी हुनुहुन्थ्यो ।

    सैनिक प्रदर्शनीमा युद्धमा प्रयोग हुने आधुनिक साधनदेखि सामग्रीसम्म, हिमालदेखि तराईमा विपत व्यवस्थापनमा प्रयोग हुने सामग्री, सैन्य भर्ना तथा आन्तरिक व्यवस्थापनलगायत विषयमा जानकारी दिन कक्ष राखिएका छन् । यसैगरी ‘युनिटी रन’अन्तर्गत विभिन्न विधाका दौड प्रतियोगिता सोमबार सञ्चालन गरिने सेनाले जनाएको छ । सेनाले विद्यार्थीका लागि पाँच किलोमिटर दौड विधागत रुपमा राखेको छ । विजयी धावकलाई नगदसहित पुरस्कृत गरिनेछ ।

    त्यसैगरी खुल्ला महिला र पुरुषतर्फ पनि दश किलोमिटर दौड आयोजन गरिनेछ । उक्त दौडमा पहिलो हुनेलाई माउन्टेन बाइकसहित रु १५ हजार पुरस्कार प्रदान गरिने सेनाले जनाएको छ । सो प्रतियोगितामा दोस्रो हुनेलाई रु १० हजार तथा तेस्रो हुनेलाई रु सात हजार पुरस्कार प्रदान गरिने छ । सैनिक प्रदर्शनी अवलोकन गर्न कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट सर्वसाधारण, विद्यार्थीलगायत आउनुभएको थियो ।

    The post सैनिक प्रदर्शनी : हाकादेखि लडाइँका साधन अवलोकनको अवसर appeared first on हरियाली नेपाल.

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर