• वैशाख २२, २०८१ शनिबार
    04 May, 2024, Saturday

    उपप्रधानमन्त्री खड्काद्वारा सैनिक कल्याणकारी निर्देशनालय अवलोकन


    २०८० माघ १४, आइतबार

    २०८० माघ १४, आइतबार

    काठमाडौँः उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक कल्याणकारी कोषमा सञ्चित रकमलाई बढीभन्दा बढी प्रतिफल प्राप्त हुने कार्यमा उपयोग गर्न सुझाव दिनुभएको छ ।

    सैनिक कल्याणकारी निर्देशनालयको आज निरीक्षण गर्नुहुँदै उपप्रधानमन्त्री खड्काले कोषको रकम हिताधिकारीहरूलाई थप आर्थिक तथा सामाजिक सुरक्षा उपलब्ध हुने योजना तथा कार्यक्रममा लगानी हुनुपर्ने बताउनुभयो ।

    “कोषको रकमलाई जोखिमपूर्ण क्षेत्रमा लगानी हुनबाट रोक्नका लागि सजग रहन र बढी लाभदायक तथा मुलुकको आर्थिक, सामाजिक विकासमा टेवा पुर्‍याउने प्रकृतिका आयमूलक तथा उत्पादनशील कार्यमा परिचालन गर्नेतर्फ ध्यानाकर्षण गराउँदछु”, उहाँले भन्नुभयो ।

    कोष स्थापनापछि हालसम्म १० लाखभन्दा बढी लाभान्वित भएको सुन्न पाउँदा आफूलाई खुसी लागेको बताउनुहुँदै उपप्रधानमन्त्री खड्काले कोषलाई आगामी दिनमा नेपाली सैनिक तथा आश्रित परिवारजनलाई गुणस्तरीय स्वास्थ्य र शिक्षा सेवा थप विस्तार गर्दै लैजान सुझाव दिनुभयो ।

    नेपाली सेना र आश्रित परिवारको बृहत्तर हितका लागि स्थापना भएको कोषको रकमबाट विभिन्न कल्याणकारी एवम् आयमूलक कार्यक्रमको समन्वय र सञ्चालन भइरहेको छ । विसं २०३२ मा स्थापना भएको कोष योगदानमा आधारित गैर नाफामूलक कल्याणकारी कार्यक्रम सञ्चालन भइरहेको छ ।

    कोषबाट नेपाली सेनाका बहालवाला, अवकाशप्राप्त सैनिक तथा उनीहरूका आश्रित परिवारलाई शिक्षा, स्वास्थ्य, सहुलियतपूर्ण ऋण, आर्थिक सहायताका साथै आवास तथा बीमा जस्ता कल्याणकारी कार्यहरू सञ्चालन गरी विभिन्न राहत तथा सुविधा उपलब्ध गराउँदै आइएको छ।

    संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त देशहरूमा शान्ति स्थापनार्थ शान्ति सेनाका रूपमा खटिएबापत प्राप्त हुने रकमको केही अंश पनि कोषमा जम्मा हुने गरेको छ ।

    “विश्वका धेरै देशहरूमा सरकारी बजेटबाट सञ्चालन हुने सैनिक कल्याणकारी सेवा सुविधाहरू नेपालमा राज्यलाई थप आर्थिक दायित्व सिर्जना नहुने गरी नेपाली सेनाका सकल दर्जाकै योगदानबाट सञ्चालन हुनु आफैँमा उदाहरणीय र सराहनीय कार्य हो”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो ।

    हाल सैनिक कल्याणकारी कोषबाट सञ्चालन हुने कार्यक्रमहरूलाई कल्याणकारी कार्य, कल्याणकारी योजना र आयमूलक कार्य गरी तीन वटा खण्डमा विभाजन गरी सञ्चालन भइरहेको छ ।

    “सैनिक कल्याणकारी कोषले सञ्चालन गरेका कल्याणकारी सेवा सुविधाहरूबाट कोषका हिताधिकारीहरू मात्र नभई ठूलो सङ्ख्यामा गैर सैनिक सर्वसाधारणहरू समेत लाभान्वित हुँदै आएको तथा यस कोषबाट सञ्चालित गतिविधिबाट नेपाल सरकारको नीति कार्यान्वयनमा समेत महत्त्वपूर्ण योगदान रहेको हुँदा यस कोषको दिगो र कुशल व्यवस्थापनमा हामी सदैव चनाखो रहनुपर्दछ”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो ।

    कोषसँग सम्बन्धित प्रचलित ऐन, कानून एवम् नीतिगत व्यवस्थाहरूलाई समयानुकूल परिमार्जन गर्न आफूले सरकारको तर्फबाट सदैव आवश्यक सहयोग गर्ने उपप्रधानमन्त्री उहाँको भनाइ थियो ।

    कार्यक्रमको प्रारम्भमा कोषका निर्देशकले कोषको समग्र वस्तुस्थितिका बारेमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीलाई जानकारी गराउनुभएको थियो । निरीक्षण तथा छलफल कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरण शर्मा सहितका अधिकारीहरू पनि सहभागी हुनुहुन्थ्यो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर