• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    नारायणी अस्पताल यथाशीघ्र निर्माण गर्न नागरिक समाजको दबाब


    २०८१ माघ २६, शनिबार
    नारायणी अस्पताल यथाशीघ्र निर्माण गर्न नागरिक समाजको दबाब

    २०८१ माघ २६, शनिबार

    वीरगञ्ज (पर्सा), २६ माघः वीरगञ्जस्थित नारायणी अस्पतालको भवन निर्माण र स्तरोन्नति पाँच वर्षदेखि अलपत्र परेको भन्दै यथाशीघ्र काम सुरु गर्न आमनागरिक समाज, स्वास्थ्यकर्मी र स्थानीयले आज यहाँ दबाबमूलक र्‍याली गरेका छन् ।

    भवन निर्माणसम्बन्धी मुद्दा पाँच वर्षदेखि सर्वाेच्च अदालतमा विचाराधीन हुँदा स्तरोन्नति काम अलपत्र परेको भन्दै यथाशीघ्र काम सुरु गर्नुपर्ने मागसहित आमनागरिक समाज र स्थानीयले एक सातादेखि दबाबमूलक कार्यक्रम गर्दै आइरहेका हुन् ।

    अस्पताल जस्तो संवेदनशील क्षेत्रको भवन निर्माण गर्ने मुद्दा पाँच वर्षदेखि सर्वाेच्च अदालतमा विचाराधीन हुँदा स्वास्थ्य सेवा प्रभावित भएकाले यथाशीघ्र समस्या समाधान गरी निर्माण अघि बढाउनुपर्ने मागसहित दबाबमूलक कार्यक्रम थालिएको आमनागरिक समाजले जनाएको छ ।

    नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा चुमनलाल दासले अस्पताल स्तरोन्नतिसम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा पाँच वर्षदेखि विचाराधीन भएकाले शय्या र सेवा विस्तार गर्ने योजनामा असर पारिरहेको बताउनुभयो ।

    सङ्घीय सरकारले आर्थिक वर्ष २०७५/७६ मा नारायणी अस्पतालको नयाँ भवन निर्माण गर्नका लागि भ्याटसहित रु डेढ अर्ब रकम विनियोजन गरेको थियो । भवन निर्माणसम्बन्धी मुद्दा पाँच वर्षदेखि लम्बिँदा अस्पताल स्तरोन्नतिको योजनाले गति लिन सकेको छैन ।

    सघन सहरी तथा भवन निर्माण आयोजना वीरगञ्ज र निर्माण कम्पनी भ्याली कन्स्ट्रक्सन प्राली/नेसनल डेभलपमेन्ट इन्जिनियरिङ संयुक्त उपक्रमबीचको विवादले भवन निर्माणको काम प्रभावित हुँदै आइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

    अस्पतालका मेसु दासले बोलपत्रमा सहभागी भएको कम्पनीको आवश्यक कागजात नभएकाले आयोजना र कम्पनीबीचको विवाद चर्किएर सर्वाेच्च अदालतसम्म मुद्दा पुगेको जानकारी दिनुभयो ।

    “बोलपत्रमा सहभागी कम्पनीहरूको आवश्यक पर्ने कागजपत्र पूर्णता परीक्षण गर्दा उपक्रममा सहभागी भएको एउटा कम्पनीको राजस्व दाखिला गरेको कागज नभेट्टिएपछि सहरी विकास तथा भवन निर्माण विभाग र निर्माण कम्पनीबीच विवाद भएको थियो”, उहाँले भन्नुभयो, “सोही विवादको अहिलेसम्म न्यायिक निरुपण हुन नसक्दा अस्पतालको भवन निर्माण प्रभावित हुँदै आइरहेको छ ।”

    वीरगञ्ज महानगरका पूर्वनगरप्रमुख विजय सरावगीले नारायणी अस्पतालको यहाँका जनताको आवश्यकता भएकाले पनि यथाशीघ्र भवन निर्माण प्रक्रिया अघि बढाउन जरुरी रहेको बताउनुभयो ।

    “अस्पतालले यो क्षेत्रका नागरिकलाई सेवा दिँदै आइरहेको छ”, उहाँले भन्नुभयो, “अस्पतालको पुरानो संरचना जीर्ण भएकाले नयाँ पूर्वाधार निर्माण गर्नु जरुरी भइसकेको छ । सरकारले अघि सारेको पाँच सय शय्याको भवनसम्बन्धी विवाद लामो समयसम्म चलिरहँदा निर्माण प्रभावित भएको छ । त्यसैले अदालतले उक्त मुद्दाको टुङ्गो लगाउन जरुरी छ ।” पूर्वनगरप्रमुख सरावगीले सर्वाेच्च अदालतले जनताको स्वास्थ्यसँग जोडिएको मुद्दा भएकाले पनि अग्राधिकारमा राखेर फैसला गरिदिन अनुरोध गर्नुभयो ।

    पाँच सय शय्याको भवन निर्माण समितिका संयोजक एवं पूर्वसांसद राजेश्वर साह तेलीले भवन निर्माणसम्बन्धी मुद्दा लामो समयसम्म लम्बिँदा यहाँका जनता स्वास्थ्य सेवाबाट बञ्जित हुँदै आइरहेका भन्दै यथाशीघ्र मुद्दाको टुङ्गो लगाउन दबाब सिर्जना गर्ने उद्देश्यले र्‍याली गर्नुपरेको बताउनुभयो ।

    नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनालले नारायणी अस्पताल वीरगञ्जको स्वास्थ्य धरोहर रहेकाले पनि यथाशीघ्र मुद्दाको टुङ्गो लगाई विवादको निरुपण हुनुपर्ने माग गर्नुभयो । “यो दबाबमूलक अभियानलाई निष्कर्षमा पुर्‍याउनका लागि सबैले हातेमालो गरेर अघि बढ्न जरुरी छ”, उहाँले भन्नुभयो । रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर