• वैशाख १७, २०८१ सोमबार
    29 Apr, 2024, Monday

    कोशीमा जलन अस्पताल निर्माण प्रकिया सुरू


    २०८० पुष २५, बुधबार

    २०८० पुष २५, बुधबार

    विराटनगर, २५ पुस । काेशी प्रदेशमा जलन अस्पताल निर्माण प्रक्रिया बुधबारबाट सुरू भएकाे छ ।

    आगलागीमा घाइते भएका लगायतका बिरामीहरूकाे उपचारका लागि एक शय्याकाे उक्त अस्पताल निर्माण गर्न काेशी प्रदेश सरकार र जन स्वास्थ्य सराेकार ट्रष्टबीच सम्झाैता भएकाे हाे ।

    मुख्यमन्त्री केदार कार्कीकाे उपस्थितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकाेटा र ट्रष्टका कार्यकारी निर्देशक डा. गाैरी प्रधानले उक्त अस्पताल निर्माणका लागि सम्झाैता पत्रमा हस्ताक्षर गरेका छन् ।

    ट्रष्टले इटहरी उपमहानगर ११ पकलीस्थित भवानीपुरमा ७ वर्ष अगाडि खरिद गरेकाे २ विघा १० कठ्ठा जग्गामा ५० शय्या जलन र ५० शय्या सामान्य गरी १ सय शय्याकाे जलन अस्पताल निर्माण गर्न लागेकाे हाे ।

    ट्रष्टले पटक पटक उक्त अस्पताल निर्माणका लागि सरकारसँग पहल गरे पनि हालसम्म संभव हुन सकेकाे थिएन । मुख्यमन्त्री कार्की नेतृत्वमा सरकार गठन भए लगत्तै उनले आफ्नै पहलमा जलन अस्पताल निर्माणका लागि बजेट विनियाेजन गरेर प्रक्रिया सुरू गरेका हुन् ।

    प्रदेश सरकारले ट्रष्टसँग सम्झाैता गरेर तीन महिनाभित्र उक्त अस्पताल निर्माण सुरू गर्न १ कराेड ५० लाख बजेट दिन सम्झाैता गरेकाे छ । ४० कराेड लागतमा निर्माण हुने उक्त अस्पतालका लागि आवश्यक थप बजेट दिने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाएका छन् ।

    अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन ट्रष्टले गर्ने कार्यकारी निर्देशक प्रधानले बताएका हुन् । उनले प्रदेश सरकारले अस्पताल निर्माणका लागि दिएकाे अनुदान सहयाेग गरे बापत काेशी प्रदेशका बिरामीलाई सहज र सुलभ रूपमा उपचार सेवा प्रदान गर्ने सम्झाैतामा उल्लेख छ । उक्त अस्पतालले जलनसम्बन्धी विशेषज्ञ र विशिष्टिकृत सेवा प्रदान गरिने समेत सम्झाैता पत्रमा भनिएकाे हाे ।

    ट्रष्टले किर्तिपुर नगरपालिकासँगकाे सहकार्यमा किर्तिपुर अस्पताल, काठमाडाैं माेडेल अस्पताल सञ्चालन गरेकाे र काठमाडाैं बाहिर सात वटै प्रदेशमा जलेकाे, पाेलेकाे, ओठ तथा तालु फाटेकाे, बाेलीकाे तालिमलगायतकाे सेवा प्रवाह गर्दै आएकाे छ ।

    मुख्यमन्त्री कार्कीले काेशी र मधेस प्रदेशका आगलागीमा घाइते भएका बिरामीलाई लक्षित गरी इटहरीमा उक्त अस्पताल निर्माण प्रक्रिया सुरू गरेकाे बताएका छन् ।

    ´उर्लाबारीमा दिपावली मनाउने क्रममा भएकाे आगलागीका २५ जना घाइते र विराटनगरमा भएकाे आगलागीका ५ जना घाइतेकाे समयमा उपचार गर्न सकेकाे भए मानवीय क्षति कम हुन् थियाे,` उनले भने, ´समयमा आगलागीमा घाइते भएकाकाे उपचार नहुँदा उर्लाबारी ८ र विराटनगरका ३ जना गुमाउन बाध्य भएकाेले काेशी प्रदेशमा नै जलन अस्पताल निर्माण प्रक्रिया सुरू गरेका हाैं ।`

    मुख्यमन्त्री कार्कीले एकातिर समाजसेवीले बिरामीलाई उपचार सेवा दिइरहेकाे र अर्काेतिर व्यापारीहरूले उपचारकाे व्यापार गरिरहेकाे बताएका छन् । ´एकातिर ब्यापारीले पहिले पैसा तिर अनि उपचार गर्ने र बिरामीलाई लग्न दिने तर किर्तिपुरमा विमानस्थलमा पुग्ने बित्तिकै चिकित्सक आफै पुगेर, विदेशबाट चिकित्सक उपकरणसहित बाेलाएर उपचार गरेकाे तर पैसा खाेजेनन् ।` हामीसँग हेलिकाेपटर भएकाे भए अझै केही बिरामी बचाउन सक्ने अवस्था रहेकाे उनले सुनाएका हुन् ।

    मुख्यमन्त्री कार्कीले जलन अस्पताल कुनै कारणले नराेकिने र बजेट अपुग भएकाे अवस्थामा प्रदेश सरकारले थप बजेट प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । उनले नाफा रहित जन स्वास्थ्य ट्रष्टले नै नेपालमा जलन उपचार सेवा प्रदान गरिरहेकाले काेशीमा अस्पताल निर्माणका लागि अनुदान सहयाेग गरेकाे बताएका हुन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर