• जेठ ६, २०८१ आइतबार
    19 May, 2024, Sunday

    डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ


    २०८१ वैशाख २४, सोमबार

    २०८१ वैशाख २४, सोमबार

    काठमाडौँ: डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य जरुरी भएको यस क्षेत्रका विज्ञहरुले बताउनुभएको छ ।

    हेलिकप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरले आगलागी नियन्त्रणका लागि गर्नुपर्ने पहलबारे आज गरेको अन्तरक्रियामा डढेलो नियन्त्रण र यसको रोकथामबारे आमनागरिकमा सचेतना अभिवृद्धि गरिनुपर्नेमा जोड दिनुभएको हो ।

    विगत केही वर्षदेखि हेलिकप्टरमार्फत सिम्रिक एयरलाइन्सले देशका विभिन्न स्थानमा लागेको आगो निभाउँदै आएको छ । यस्तो कार्यक्रम निजी कम्पनीले मात्र नभई सरोकारवाला निकायबीच आपसी समन्वयका साथ भएमा प्रभावकारी हुने अन्तरक्रियाका सहभागीहरुको धारणा थियो ।

    कार्यक्रममा महानगरीय प्रहरी बलका प्रहरी निरीक्षक एवं अग्नि नियन्त्रण विज्ञ किशोरकुमार भट्टराईले ‘जङ्गल आगलागी र हवाई प्रतिकार्य’ बारे कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले अग्नी नियन्त्रणलाई समन्वय र सहकार्य आवश्यक भएको बताउनुभयो । मानवीय कारणले आगलागी हुने बताउनुहुँदै उहाँले यसको रोकथामपनि मानवले नै गर्नुपर्ने धारणा राख्नुभयो ।

    “डढेलो नियन्त्रणका लागि सिम्रिक एयरले जे गरिरहेको छ, यो व्यक्तिगत जस्तो भइरहेको छ, तर यो व्यक्तिगत हैन सामूहिक कार्य हो, यसमा सबै सरोकारवालाको साझेदारी आवश्यक छ”, विज्ञ भट्टराईले भन्नुभयो । उहाँले नेपालमा अग्नि नियन्त्रण पर्याप्त नहुनुमा अग्नि नियन्त्रणसम्बन्धी जनशक्ति अभाव हुनु प्रमुख कारण रहेको बताउनुभयो । त्यसैले आगो निभाउने कार्य कठिन भइरहेको उहाँको भनाइ थियो ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका पूर्वमहानिर्देशक फडिन्द्रराज खरेलले मुलुकमा अग्नि नियन्त्रण सम्बन्धी प्रभावकारी संयन्त्र नहुँदा वर्षेनी ठूलो जनधनको क्षति भएको बताउनुभयो । सिम्रिक एयरले विगतमा शिवपुरी निकुञ्ज, पाथिभरालगायत क्षेत्रमा डढेलो नियन्त्रण गरेर सराहनीय काम गरेकाले सरकार र निजी क्षेत्रको साझेदारीमा डढेलो नियन्त्रण गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    पत्रकार भीम खरेलले देशभरका स्थानीय तहमा दमकलको व्यवस्था नहुनु, विज्ञ जनशक्ति अभाव हुनु र अन्तर निकायको समन्वय, सहकार्य अभावले डढेलो नियन्त्रण चुनौती बनेको उल्लेख गर्नुभयो ।

    आगलागीबाट निम्तन सक्ने विनासका घटना नियन्त्रण गर्न सिम्रिक एयरले आवश्यक परेको अवस्थामा हेलिकप्टर सहयोग गर्ने घोषणा गरेको छ । सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले आगो नियन्त्रणका लागि हेलिकप्टर माग भएमा सिम्रिक एयरले हेलिकप्टर सहयोग गर्ने बताउनुभयो । उहाँका अनुसर सिम्रिक एयर लिमिटेडले पछिल्लो पाँच वर्षदेखि आगलागी नियन्त्रणको काम गर्दै आइरहेको छ ।

    सिम्रिक एयरले आगलागी नियन्त्रणका लागि ‘बम्बी बकेट’ मार्फत आगलागी क्षेत्रमा ‘वाटर बम्बिङ’ को प्रयोग गरेर आगो निभाउँदै आएको जनाएको छ । यस पद्धतिमा नजिकैको ताल तलैया अथवा नदीमा बकेट डुबाई पानी लोड गरिन्छ । सो बकेट डोरीमार्फत हेलिकप्टरमा जोडिन्छ र सो बकेटको बटन खोल्नका लागि कन्ट्रोल हेलिकप्टरभित्रै पाइलटले गर्दछन् । एक हजार लिटर पानी डढेलो ग्रस्त क्षेत्रमा उचाइबाट फाल्दा अग्नि नियन्त्रण प्रभावकारी हुने गर्छ । यो पद्धति विश्वभरि  सुरक्षित एवं प्रभावकारी रहेको जनाइएको छ ।

    कम्पनीसँग एयरबस (बीथ्रीई) हेलिकप्टर दुई र बेल पाँच सय हेलिकप्टर दुई गरी कूल चार हेलिकप्टर सञ्चालनमा छन् । नेपालमा १२ हेलिकप्टर कम्पनीका ४० हेलिकप्टरमध्ये ३५ वटा सञ्चालनमा छन् । नेपाली सेनासँग छुट्टै छ थान हेलिकप्टर छन् ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर