• वैशाख १५, २०८१ शनिबार
    27 Apr, 2024, Saturday

    मौलिक चलचित्र निर्माणमा जोड दिन सञ्चारमन्त्री शर्माको सुझाव


    २०८० फागुण १८, शुक्रबार

    २०८० फागुण १८, शुक्रबार

    काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्र ‘सतीदेवी’प्रति चासो लिँदै नेपालमा यस प्रकारका मौलिक, यथार्थपरक चलचित्र निर्माणमा जोड दिनुपर्ने बताएकी छिन् ।

    मन्त्री शर्मा र ‘सतीदेवी’ का लेखक, निर्माता, निर्देशक लक्ष्मण सुवेदीबीच बुधबार मन्त्रीकै कार्यकक्ष सिंहदरवारमा भएको भेटघाटमा नेपाली चलचित्रको विकास, बिस्तार र श्रीवृद्धिका लागि मौलिक कथा प्रस्तुतिमा जोड दिनुपर्ने मन्त्री शर्माको राय थियो । मन्त्री शर्माले चलचित्र ‘सतीदेवी’ नारी प्रदान, मौलिक कथामा निर्माण भएको सुनेकाले आफूलाई रुचि लागेको बताएकी थिइन् ।

    निर्देशक सुवेदीले मन्त्री शर्मालाई आफ्नो चलचित्रको विषयबस्तुको बारेमा जानकारी गराए । मन्त्री शर्माले ‘सतीदेवी’ चलचित्रबारे निकै अभिरुचिका साथ सुनेर यस प्रकारका मौलिकता बोकेका नेपालीपनयुक्त चलचित्रलाई राज्यले विशेष रुपले सहयोग गर्ने प्रतिबद्धता जनाएको निर्देशक सुवेदीले बताए ।

    मन्त्री शर्माले आफू सधैँ नेपाली चलचित्रको गुणस्तरीय र व्यावसायिक विकासको पक्षमा रहेको जोड दिँदै छिट्टै नै चलचित्र ऐन लागू गर्न आफू लागिपरेको बताइन् ।

    मन्त्री शर्माले चलचित्र अभिव्यक्तिको निकै सशक्त माध्यम भएकाले देशको कला, भाषा, संस्कृतिको विकास र प्रबद्र्धनमा निकै प्रभावकारी भूमिका निर्वाह गर्ने बताउँदै चलचित्रकर्मीहरुले मौलिक चलचित्र निर्माणमा लाग्नु पर्ने धारणा राखिन् ।

    सञ्चारमन्त्री शर्माले आफ्नो चलचित्रप्रति दिएको अभिरुचि र सहायताको प्रतिबद्धताबाट आफू निकै प्रफुल्लित र प्रेरित भएको निर्देशक सुवेदीले बताए । उनले मन्त्री शर्मा नेपाली चलचित्र र चलचित्रकर्मीको समुन्नतिका लागि केही गरौं भन्ने भावनायुक्त पाएको समेत उल्लेख गरेका छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर