खोटाङ । संसद विघटनको बिरोधमा नेपाली कांग्रेस खोटाङले विरोध र्याली निकालेको छ ।
पाँच वर्षका लागि अनुमोदित सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले असंबैधानिक ढंगले संसद बिघटन गरेको भन्दै कांग्रेसले केन्द्रिय समितिको निर्देशनमा कांग्रेस जिल्ला कार्यसमितिले सोमबार दिक्तेलबजारमा विरोध र्याली निकालेको हो ।
कांग्रेस पार्टी कार्यालय दिक्तेलबाट निकालिएको विरोध र्याली सल्लेरीटोल, त्रिबेणीचोक, भानुचोक हुंदै त्रिबेणीचोकमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई कांग्रेसका महासमिति सदस्य रबि प्रकाश राई, सरस्वती वजिमय, सुबास कुमार पोखरेल, विष्णुकुमार राई र पार्टी सभापति नरेश कुमार श्रेष्ठले सम्बोधन गरेका थिए ।
सम्बोधनका क्रममा केपी ओली सरकार सर्वसत्तावाद, भ्रष्टाचारी सरकार र संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भएको नेताहरुले बताएका छन् । १६५ वटा निर्वाचन क्षेत्रमा विरोध गर्ने देशव्यापी कार्यक्रम अन्तर्गत खोटाङमा कांग्रेसले विरोध प्रदर्शन गरेको हो ।
यसैविच, विरोध कार्यक्रमको कोणसभामा विभिन्न पार्टी परित्याग गरी ४ जना युवा कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई कांग्रेसका नेताहरुले खादा लगाइ पार्टीको झण्डा दिएर स्वागत गरेको पार्टी सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिनुभयो ।