जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका प्रमुख डा. उमेश मेहताले कार्यालय सहयोगीलाई सेवाबाट हटाएका छन् ।
कार्यालय सहयोगी दुर्गाप्रसाद आचार्यले गरेको कार्य सम्पादनमाथि चित्त नबुझेको आरोप लगाउँदै डा. मेहताले सेवाबाट हटाएका हुन्।
२०७१ असोज १७ गते करारमा कार्यालय सहयोगीको रूपमा नियुक्ती पाएका आचार्यलाई डा. मेहताले गत माघ १ गतेदेखि हाजिर गर्न दिएका छैनन्।
कार्यालय प्रमुख भएर आएका मेहताको भित्रीबस्त्र धुन इन्कार गरेको निहुँमा सेवाबाट हटाएको र पटक-पटक कार्यालय नआउनु भनि दबाब दिएको आचार्यले गुनासो गरे। तर, आचार्य दैनिक कार्यालयमा पुगेर आफ्नो काम गरिरहेका छन्।
‘मेरो काम कार्यालय सरसफाइ गर्ने हो, कार्यालय प्रमुखको लुगा कपडा धुने होइन । तर हाकिम साबले भनेपछि उहाँले लगाएको लुगा समेत धोइदिएँ । उहाँको पेन्टी समेत धुन लगाउनुभयो।’ आचार्यले भने, ‘म बाहुनको छोरा हुँ, पेन्टी चाँहि धुँदिन भन्दा जागिरबाटै हटाउनुभयो । उमेरले पनि डाँडो काट्न लाग्यो ।
अन्य काम गर्न सक्दिन । करारको जागिर गएपछि मेरो परिवारको बिचल्ली भएको छ ।’ डा. मेहताले हाजिर हुन नदिएपछि जागीर बचाउनकालागि आचार्यले कर्मचारीको विभिन्न पेशागत संगठनदेखि पत्रकारलाई गुहारिरहेका छन् ।
कार्यालय प्रमुख डा. मेहताले करारमा रहेका कार्यालय सहयोगी आचार्य, ल्याब असिस्टेन्ट बस्नेत र पुरुष थेरापी आचार्यको कार्यसम्पादन चित्तबुझ्दो नभएकाले हटाएको प्रतिक्रिया दिएका छन्।
ल्याब असिस्टेन्ट बस्नेत सुत्केरी भएको अवस्थामा र पुरुष थेरापी आचार्य बिरामी भएको अवस्थामा जागिरबाट निकालिएका हुन्।
कार्यालय सहयोगीको जागीर खाइदिने डा. मेहताले ऐसेलुखर्कमा कार्यरत सीता यादव र दिक्तेलमा कार्यरत भीमप्रसाद कोइरालाको भने सट्टा भर्ना गरेका छन्।
मेहताले आफ्नो अनुकुलका लागि करारमा कार्यरत यादव र कोईरालाको सट्टा भर्ना गरेको बताइएको छ।