• वैशाख २१, २०८१ शुक्रबार
    03 May, 2024, Friday

    स्वास्थ्य शिविरबाट २८३ जना लाभान्वित


    २०८० माघ २९, सोमबार

    २०८० माघ २९, सोमबार

    काठमाण्डौंः बाँकेको नेपालगन्जमा आयोजना गरिएको विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविरमा नौ जिल्लाका २८३ जनाले विशेष स्वास्थ्य सेवा लिएका छन् ।

    वेष्टर्न अस्पताल नेपालगन्जले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा पश्चिम नेपालका नौ वटा जिल्लाका २८३ जनाले आएर निःशुल्क बिशेषज्ञ स्वास्थ्य सेवा लिएका हुन् ।

    जनरल सर्जरी, स्त्री रोग, नाक, कान, घाँटी तथा आहारसम्बन्धि विशेषज्ञ चिकित्सकले सेवा दिनुभएको सो शिविरमा बाँकेका १२३ जना, बर्दियाका ६६ जना, कैलालीका २३ जना, सुर्खेतका ४९ जना, रुकुमका ३ जना, जुम्लाका ७ जना, डोल्पाका ४ जना, कालिकोटका ७ जना र बैतडीका १ जना गरी २८३ बिरामीले सेवा लिएको वेस्टर्न अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. कल्पना थापाले बताउनुभयो ।

    सो शिविरमा सर्जरीतर्फ डा. रुपानन्द अधिकारी, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कल्पना थापा, इएनटी सर्जन डा. रबि स्वार तथा डी.टि. सुशिला खनाललगायतले आएकाहरुको स्वास्थ्य परीक्षण गरेर विभिन्न परामर्श दिनुभएको थियो ।

    अस्पतालले निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा बाँके मात्र नभई अन्य जिल्लाका सम्बन्धितसम्म पनि पुगाउन यो शिविर सञ्चालन गरेको डा. थापाले बताउनुभयो । उहाँले यो शिविरबाट धेरै जनाको रोग पहिचानमा सहयोग पुगेको बताउनुभयो । निःशुल्क स्वास्थ्य शिविरबाट बिशेषज्ञ स्वास्थ्य सेवा पाएकाले यस्ता शिविरहरु अझै पनि निरन्तर राख्नुपर्ने माग गरेका छन् ।

    शिविरमा स्वास्थ्य परीक्षण गराउनु भएका बर्दिया बढैयातालका जिवन थारुले लामो समयदेखि कानमा समस्या भए पनि पैसाको अभावले जाँच गराउन नसकेको जनाउँदै निःशुल्क शिविर थाहा पाएर आएको र राम्रो भएको बताउनुभयो । उहाँले आफूजस्ता धेरै जना बिरामीले अझै पनि पैसा अभावकै कारण विशेषज्ञ स्वास्थ्य सेवा पाउन नसकेकोले यस्ता शिविरहरु नेपालगन्जमा मात्र नगरी अन्य जिल्लामा पनि आयोजना गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर