• वैशाख १६, २०८१ आइतबार
    28 Apr, 2024, Sunday

    बेलायतका लागि पैँतालिस नर्स छानिए


    २०८० मंसिर २५, सोमबार

    २०८० मंसिर २५, सोमबार

    काठमाडौं – बेलायतका विभिन्न स्वास्थ्य क्षेत्रमा रोजगारीमा जान ४५ नर्स अन्तिम छनोटमा परेका छन् ।

    अन्तर्वार्तामा सहभागी भएका ६० जनामध्ये ४५ नर्स अन्तर्वार्ताबाट छनोट भएको वैदेशिक रोजगार विभागले जनाएको हो ।

    विभागका अनुसार अन्तर्वार्ताका लागि ७१ जना नर्सको प्रारम्भिक सूची सार्वजनिक गरिए पनि अन्तर्वार्तामा ६० नर्स मात्रै सहभागी भएका थिए ।

    अन्तर्वार्तामा छनोट भएका नर्सलाई बेलायतको कामबारे जानकारी दिइने र एक/डेढ महिनाभित्र बेलायत पठाइने विभागले जनाएको छ ।

    छनोट भएका आवेदकलाई मङ्सिर १८ देखि २१ गते (डिसेम्बर ४ देखि ७) सम्म अन्तर्वार्ताका लागि लैनचौरस्थित बेलायती दूतावासमा बोलाइएको थियो ।

    बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने गरी नेपाल र बेलायत सरकारका प्रतिनिधिबिच २०७९ भदौ ६ गते सम्झौता सम्पन्न भएको थियो ।

    विभागले गएको साउन ५ देखि तीन महिनाको समयअवधि तोकेर एक सय जना नर्सका लागि अनलाइन आवेदन आह्वान गरेको थियो ।

    तीनमहिने अवधि राखेर आह्वान गरिएको आवेदनमा ७३५ जनाको आवेदन परेकामा दुई देशका प्रतिनिधिले तयार गरेको प्रोटोकल अनुसार ७१ जना मात्रै छनोट भएका हुन् । जसमा ११ जना अन्तर्वार्तामा अनुपस्थित रहेकाले अन्तर्वार्तामा ६० नर्स सहभागी रहेकामा ४५ जना अन्तिम छनोटमा परेको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिनुभयो ।

    स्वास्थ्यकर्मीको छनोट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रियाबमोजिम गरिएको हो । नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा (एनएचएस) मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाउने सहमति भएको छ ।

    नेपाल र बेलायत सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना (इम्प्लिमेन्टेसन प्रोटोकल) दुई देशका सरकारले पारित गरेसँगै बेलायतमा नेपाली नर्सका लागि आवेदन खुलाइएको थियो । प्रोटोकल अनुसार मागभन्दा कम नर्स मात्रै छनोटमा परेका छन् । अनलाइन आवेदन दिएर तोकेको मापदण्ड पूरा गरेकाको बेलायत स्वास्थ्य विभागले प्रारम्भिक सूची सार्वजनिक गरेको छ ।

    विभागका प्रवक्ता उप्रेतीले आइइएलटिएसमा न्यूनतम सात अङ्क ल्याउनुपर्ने र दुई वर्षको कार्यानुभव भएको हुनुपर्नेलगायतका मापदण्ड प्रोटोकलमा तोकिएकाले यो पटक आवेदकमध्ये थोरै सङ्ख्या मात्रै छनोटमा परेको जानकारी दिनुभयो । उहाँका अनुसार आवेदन आएकामध्ये कम छनोट पर्नुमा पुरानामा भाषागत समस्या र नयाँमा कार्यानुभव कम भएको पाइयो ।

    नेपाल सरकारका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बेलायतका तर्फबाट युके डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयरले नेपाली नर्सलाई बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा भर्ना सुरु गरेको हो । नेपाली नर्सको भर्ना प्रक्रियालाई स्वच्छ र प्रतिस्पर्धी बनाउन प्रोटोकल अनुसार छनोट गरिएको र प्रोटोकल पूरा गर्ने आवेदक थोरै भएको विभागका प्रवक्ता कविराज उप्रेतीले जानकारी दिनुभयो । पहिलो पटक धेरै विषयमा अन्योल भएकाले पनि थोरै छनोट भएको र आउँदा वर्षहरूमा यस्तो अवस्था नआउने विश्वास पनि व्यक्त गर्नुभयो ।

    प्रोटोकल अनुसार बेलायत जान चाहनेले कम्तीमा तीन वर्षको नर्सिङ कोर्स पिसिएल नर्सिङ वा बिएनसरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने छ भने आइइएलटिएसमा न्यूनतम सात अङ्क अनिवार्य रूपमा ल्याउनुपर्ने सर्त तोकिएको छ ।

    त्यसै गरी दुई वर्षको कार्य अनुभव (वर्किङ एक्सपिरियन्स) पनि प्रोटोकलमा अनिवार्य गरिएको छ । प्रोटोकलले तोकेको योग्यता पूरा गरेकामध्ये सङ्क्षिप्त सूची तयार (सर्ट लिस्टिङ) परेका ७१ जना परेका थिए ।

    दुई देशबीच भएको श्रम सम्झौता अनुसार नेपाल र बेलायतबिच परीक्षणका रूपमा प्रथम चरणमा नेपाली नर्सलाई बेलायतमा पदस्थापना गर्ने कार्यलाई ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ बारे स्पष्ट व्यवस्था गर्ने सहमति भएको थियो । नेपाल नर्सिङ परिषद्को तथ्याङ्‍क अनुसार हालसम्म नेपालमा करिब ७४ हजार नर्सले सेवाका लागि अनुमति (लाइसेन्स) लिएकामा करिब ४५ हजार नर्सिङ जनशक्ति मात्र सक्रिय भएको तथ्याङ्‍क छ । तीमध्ये नेपाल सरकार अन्तर्गत स्थायी र करारमा १८ हजार नर्स कार्यरत छन् ।

    वैदेशिक रोजगारका लागि सरकारी–सरकारी (जिटुजी) संयन्त्रमार्फत शून्य लागतमा नेपाली वैदेशिक रोजगारीमा पठाउन थालिएको पहिलो पटक हो । यस्तै नेपालको स्वास्थ्य क्षेत्रको सुदृढीकरण र आधुनिकीकरणमा सहयोग जारी रहने कुरा पनि समझदारीपत्रमा उल्लेख छ । गोरखापत्र

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर