• जेठ २, २०८१ बुधबार
    15 May, 2024, Wednesday

    डेंगुबाट तनहुँमा थप एकको ज्यान गयो


    २०८० कार्तिक १३, सोमबार

    २०८० कार्तिक १३, सोमबार

    काठमाण्डौंः तनहुँमा डेंगुको सङ्क्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । व्यास नगरपालिका–९ डोटेलफाँट निवासी ७२ वर्षीया टीकामाया पौडेलको हालै मृत्यु भएको हो ।

    दमौली गरिएको उपचारमा निको नभएपछि काठमाडौंस्थित मेट्रोसिटी अस्पतालमा लगिएको र त्यहाँको चिकित्सकले डेंगुबाट मृत्यु भएको उल्लेख गरेको स्थानीय बासिन्दा बाबुराम खनालले जानकारी दिनुभयो । पौडेलको मृत्यु भएसँगै जिल्लामा डेंगुबाट छ जनाको मृत्यु भएको छ ।

    तनहुँमा पछिल्लो समय शहरी क्षेत्रमा समेत नभई ग्रामीण क्षेत्रमा समेत डेंगुको सङ्क्रमण फैलिन थालेको र हालसम्म छ हजार चार सय ६० जनामा सङ्क्रमण भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

    डेंगुको सङ्क्रमण बढ्दै गएपछि सरकारी तथा निजी अस्तालमा बिरामीको भीड लागेको छ । डेंगुको सङ्क्रमण एडिज जातीको लामखुट्टेबाट मात्र फैलने, सफा पानीमा फूल पार्ने, लार्भा हुर्काउने भएकोले पानी जम्न नदिएर बासस्थान ध्वस्त बनाएर लामखुट्टेलाइ नष्ट गर्नुपर्ने चिकित्सक बताउँछन् । बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेंगुको लक्षण भएको दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले जानकारी दिनुभयो ।

    जिल्लामा रोग फैलिंदै गएपछि रोकथाम, नियन्त्रण र न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएकाे छ । लामखुट्टेले फुल पार्ने ठाउँमहरु ‘‘खोजौं र नष्ट गरौं’’ भन्ने नारासहित जिल्लाका सबै पालिकामा अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

    नेपाल रेडक्रस सोसाइटी तनहुँ डेंगु रोगको रोकथाम तथा न्यूनीकरण अभियानमा सामेल छ । रेडक्रसले सचेतनामूलक कार्यक्रम गरिरहेको छ । रेडक्रसले जुनियर रेडक्रस सर्कल, युवा रेडक्रस सर्कलमार्फत लामुखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने लगायतको काम भइरहेको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य तथा तनहुँ शाखाका सभापति प्रा.डा. कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर