• मंग्सिर २८, २०८२ शनिबार
    13 Dec, 2025, Saturday

    अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ


    २०८२ मंग्सिर २१, शनिबार
    अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ

    २०८२ मंग्सिर २१, शनिबार

    काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल सकिए वा सकिन्छन् भन्ने नसोच्न आग्रह गरेका छन् ।  आज च्यासलस्थित पार्टी कार्यालयमा पार्टीको मुख पत्र नवयुग ई–बुलेटिनको शुभारम्भ गर्दै उनले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनले एमालेविरुद्धको घरेबन्दी तोड्ने र पार्टी फेरि अघि बढ्ने बताए ।

    उनले महाधिवेशनको सफलता लोकतन्त्रको सफलता भएकोले महाधिवेशनलाई भव्य बनाउनु पर्नेमा जोड दिए । “यो महाधिवेशनको सफलता लोकतन्त्रको सफलता हो । त्यसैले यसलाई सफल बनाउनु पर्दछ,” उनले भने, “महाधिवेशन नेपाली जनता र देशको भविष्यको लागि आवश्यक छ ।” उनले जनताको शक्तिलाई निर्णायक शक्तिमा बदल्नका लागि महाधिवेशन आयोजनासमेत गरिएको बताए ।

    अध्यक्ष ओलीले स्वतन्त्र, निष्पक्ष शान्तिपूर्ण वातावरणमा चुनाव हुनुपर्नेमा जोड दिए । “हामीले चुनावलाई पर्खिरहेका छौँ । चुनावबाट आउने सरकार एमालेको हुन्छ,” उनले भने, “पुराना पार्टीमध्ये एमाले चुनावपछि उदाएर आउने छ ।”

    एमाले महासचिव शंकर पोखरेलले आजको जटिल अवस्थाको नेतृत्व गर्न सक्ने र मुलुकलाई लोकतन्त्रतर्फ फर्काउने पार्टी र नेतृत्व आवश्यक रहेको बताए । एमालेको महाधिवेशनलाई प्रतिगमनविरुद्धको संघर्ष र जनसंघर्षको कार्यक्रमका रूपमा परिभाषित गर्नुपर्ने उनको भनाइ थियो ।

    महासचिव पोखरेलले राष्ट्र निर्माणको योजनाकार एमाले भएको बताउँदै उनले देशको राजनीति एमालेको वरिपरि घुमेको बताए । उनले पार्टीमा यति बेला प्रतिस्पर्धा नभई एकता खाँचो रहेको भन्दै केपी शर्मा ओलीलाई नेतृत्वमा स्थापित गरेर सबै त्यसमा एकताबद्ध हुन आवश्यक रहेको बताए । रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर