काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तत्काल महाधिवेशन नगर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेतृत्वको कार्यकाल थप गर्दै आगामी ६ महिनासम्म वर्तमान संरचनालाई निरन्तरता दिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको कार्यसमितिको कार्यकाल मंसिर १८ गते समाप्त हुँदै थियो। सो अवधि समाप्त हुनुअघि बसेको समितिको बैठकले केन्द्रीयदेखि स्थानीय तहसम्म सबै संरचनाको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको श्रेष्ठले बताए।
बैठकमा महाधिवेशनको तयारी, राजनीतिक परिस्थिति तथा संगठनात्मक जिम्मेवारीबारे प्रारम्भिक छलफल भए पनि तत्काल महाधिवेशन गर्ने वातावरण नभएको निष्कर्ष निकालिएको र त्यसैले कार्यकाल थपिएको बताइएको छ।
राप्रपाले आगामी महाधिवेशनका लागि आवश्यक गृहकार्य, आन्तरिक संरचनाको समायोजन तथा पार्टी नीतिगत बहसलाई क्रमबद्ध रूपमा अघि बढाउँदै जाने जनाएको छ।




