• वैशाख १८, २०८१ मंगलबार
    30 Apr, 2024, Tuesday

    कामपाका सबै विद्यालयमा शैक्षिक कार्यपात्रो लागू : १ सय ३९ दिन पढाइ, १ सय २६ दिन बिदा


    २०८१ वैशाख ५, बुधबार

    २०८१ वैशाख ५, बुधबार

    काठमाडौंः काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा यो वर्ष १ सय ३९ दिन मात्र पढाइ हुने भएको छ। १ सय २६ दिन बिदा हुने गरी शैक्षिक कार्यपात्रो २०८१ जारी गरेको छ।

    कामपाले दशैंमा १३, तिहारमा ४ दिन र कात्तिकमा २३ दिन बिदा हुने गरी वार्षिक शैक्षिक कार्यपात्रो जारी गरेको छ। कार्यपात्रोमा उल्लेख भएका बिदालगायतका गतिविधि सबै सामुदायिक र संस्थागत र गुठीमा सञ्चालित विद्यालयले पालन गर्नुपर्नेछ।

    शैक्षिक कार्यपात्रोअनुसार सामुदायिक विद्यालयले यही ७ गतेसम्म भर्ना अभियान सञ्चालन गरी ८ गते विद्यालय चमेनागृह सञ्चालन तथा कुक अभिमुखीकरण तालिम सञ्चालन गरी ९ गतेबाट कक्षा सञ्चालन गर्र्नुपर्ने गरी कार्यपात्रो जारी गरेको हो। जेठ ७ गते आईईएमएस (इमिस) मा विद्यार्थीको तथ्याङ्क अद्यावधि गर्ने, २९ देखि ३२ गतेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको बृहत् शैक्षिक प्रदर्शनी आयोजना गर्ने शैक्षिक पात्रोमा उल्लेख गरेको छ।

    कामपाका प्रवक्ता नवीन मानन्धरले शैक्षिक पात्रोमा उल्लेख भएको बिदा, पठनपाठनलगायतका क्रियाकलाप संस्थागत विद्यालयले पनि लागू गर्नुपर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘क्यालेन्डर भनेपछि सामुदायिक विद्यालयका लागि मात्र हुन्छ र ? यो सबै विद्यालयका लागि जारी गरेका हौं, सबैले आजैबाट पालना गर्नुपर्नेछ ।’

    विभागले जारी गरेको सो कार्यपात्रोमा असार १७ देखि २४ सम्म कक्षा ४ देखि १० सम्मको प्रथम त्रैमासिक परीक्षा, २५ देखि ३१ सम्म वर्षे बिदा, सो महिनाको अन्तिम हप्ता कक्षा ११ को छात्रवृत्ति परीक्षा, असोज १४ गते दशैं र तिहारको शुभकामना आदानप्रदान कार्यक्रम, कात्तिक १ देखि १४ र २० देखि २३ सम्म वर्षे र हिउँदे बिदाबाट कट्टी हुने गरी बिदा, कात्तिक १५ देखि १९ सम्म तिहार बिदा दिने गरी शैक्षिक कार्यपात्रो जारी गरेको छ।

    प्रवक्ता मानन्धरले सो शैक्षिक कार्यपात्रो वैशाख २ गतेबाट लागू भइसकेको जानकारी दिनुभयो। कार्यपात्रोअनुसार कात्तिक २५ देखि ३० सम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नाम दर्ता, मंसिर १२ देखि १५ सम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, पुस ८ देखि १७ सम्म कक्षा ४ देखि १० सम्मको द्वितीय त्रैमासिक परीक्षा, पुस १८ देखि माघ ८ सम्म जाडो बिदा, चैत ३ देखि १० सम्म कक्षा ३ देखि ९ सम्मको वार्षिक परीक्षा गर्ने गरी तालिका सार्वजनिक गरेको हो । विभागले सबै विद्यालयले क्यालेन्डरमा उल्लेख भएबाहेकको बिदा दिन नपाइने जनाएको छ ।

    विभागले हिजो मंगलबार कार्यपात्रो जारी गरेको थियो। कामपाले यो वर्षबाट सबै विद्यालयलाई प्रारम्भिक बाल कक्षा (ईसीडी) देखि कक्षा ३ सम्म एकीकृत पाठ्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएको छ। कक्षा तीनसम्मको थिमगत सिकाइ उपलब्धि तथा अन्य कक्षाका विद्यार्थीको आन्तरिक मूल्याङ्कन बारेमा जानकारी गराउन हरेक तीन महिनामा कम्तीमा एकपटक अभिभावक भेला राख्नुपर्ने निर्देशन दिएको छ।

    कक्षा १–१२ मा पाठ्यक्रमले तोकेबमोजिमको आन्तरिक मूलयांकन गरी सोको अभिलेखीकरण अनिवार्य रूपमा गर्नुपर्ने गरी कार्यतालिका तयार गरेको हो।

    पाठ्यक्रम प्रारूप २०७६ मा आधारित भएर शिक्षण गर्नुपर्ने, केन्द्रले स्वीकृत गरेका पाठ्यपुस्तक मात्र पढाउन पाइने गरी पात्रो तयार गरेको हो । विभागले सामुदायिक विद्यालयहरूले हरेक महिनाको ७ गतेभित्र अघिल्लो महिनाको दिवा खाजाको रकम माग गर्नुपर्ने उल्लेख गरेको छ।

    त्यसै गरी सामुदायिक विद्यालयहरूले हरेक महिनाको २५ गतेभित्र सो महिनाको तलबभत्ता माग गर्नुपर्ने उल्लेख गरेको छ। रैथाने खानेकुरा प्रयोग गर्ने बानी बसाल्न जंकफुडलाई विद्यालयभित्र पूर्ण रूपमा प्रतिबन्ध लगाएको प्रवक्ता मानन्धरले जानकारी दिनुभयो। नेपाल समाचारपत्र

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर