• जेठ ६, २०८१ आइतबार
    19 May, 2024, Sunday

    आलेखः धार्मिक विद्यालयमा नमुना बन्दै ‘मदरसा आधारभूत नुरुल हुँदा’


    २०८० कार्तिक ५, आइतबार

    २०८० कार्तिक ५, आइतबार

    काठमाण्डौंः वीरगञ्ज पर्सागढी नगरपालिका–५ बहरवाका तफाजुल मियाँ अहिले मदरसा नुरुल हुँदा आधारभूत विद्यालय रामपुरमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी छन्। उनले घरदेखि निकै टाढा रहेको पाल्पाको रामपुरलाई शैक्षिक थलो बनाएका छन्।

    उर्दू विषयका साथै नेपाल सरकारले निर्धारण गरेका सबै विषय नेपाली, अङ्गे्रजी माध्यममा एउटै विद्यालयमा पढाइ हुने भएकाले अध्ययनका लागि रामपुर आएको उनी बताउँछन्। आफ्नो मामामार्फत आठ वर्षको उमेरमा नै रामपुर आएका मियाँले मुस्लिम विद्यार्थीको लागि मदरसा नुरुल हुदा विद्यालय नेपालकै नमुनाका रुपमा पढाइ हुने विद्यालय भएको महसुस गरेका छन्।

    “मुस्लिम समुदायका विद्यार्थीले यहाँको विद्यालयमा पढाइ हुने सबैजसो विषय नेपालमा अन्यत्र कुनै पनि विद्यालयमा पढाइ भएको पाइँदैन। यहाँ उर्दू भाषालाई संरक्षण गर्दै नेपाल सरकारका सबै विषय नेपाली, अङ्ग्रेजी माध्यममा पठनपाठन भइरहेको हुँदा अधिकांश विद्यार्थीले यहीँ विद्यालय रोज्ने गरेका छन्” उनले भने।

    धार्मिक विषय मात्र नभई नेपाली र अङ्ग्रेजी माध्यममा पनि पठनपाठन हुने भएपछि कक्षा ८ सम्मको पढाईका लागि संस्थागत विद्यालयमा धेरै रकम खर्चेर पढ्नुपर्ने अवस्था नरहेकाले यो विद्यालय मुस्लिम विद्यार्थीको लागि उत्कृष्ट विद्यालयको रुपमा रहेको उनी बताउँछन्।

    रुपन्देहीको सांस्कृतिक नगरपालिका–५ ढुडाहकी मन्तस खातुन अहिले नेपाली भाषा मज्जाले बोल्नुहुन्छ। एक वर्षअघि यस विद्यालयमा कक्षा ५ मा अध्ययन गर्न आएकी उनी नेपाली भाषामा अति कमजोर विद्यार्थी थिइन्। गाउँकै एक मुस्लिम विद्यार्थीले पढ्ने विद्यालयमा उर्दू भाषा पढेकी खातुन नेपाली भाषा सिकाईका अलावा, अङ्ग्रेजी, गणित विषय एकै ठाउँमा अध्ययन गर्न पाइने भएपछि यस विद्यालय रोजेकी हुन्। कक्षा ६ मा अध्ययनरत खातुन एक वर्षमा आफुले यस विद्यालयबाट धेरै प्रगति गरेकोमा खुशी छन्।

    “गाउँमा सञ्चालन भएको विद्यालयमा उर्दूबाहेक अन्य केही विषय पढाइ हँुदैनथ्यो, विद्यालय गएर पढे नपढेको कसैलाई मतलव नै थिएन” उनले भनिन्,–“अङ्ग्रेजी, नेपाली विषय नाममात्रैको पढाइ हुन्थ्यो, विद्यार्थीले के कति बुझे बुझेनन् भन्ने नै थिएन, मन लाग्दा विद्यालय जाने आदत बसेको थियो, अहिले यहाँ आएर पढ्न पाउँदा एक वर्षमा नै धेरै ज्ञान सीपमा परिवर्तन आएको देख्दा म आफै दङ्ग छु”।

    खातुनले पढेर भविष्यमा नर्स बन्ने सपना बुनेकी छिन्। बाहिरबाट आएका विद्यार्थी र स्थानीय विद्यार्थीमा कुनै भेदभाव नरहेको, विद्यार्थीले पढाएको कुुरा के कति बुझे बुझेनन् यस विषयमा विद्यालयले निरन्तर औपचारिक या अनौपचारिक रुपमा मूल्याङ्कन गर्दै पृष्ठपोषण दिने गरिरहेको खातुले बताइन्। यस कार्यले पनि विद्यार्थीले शिक्षण सिकाइ कार्यमा सक्रिय रुपले निरन्तर मेहनत गरिरहेको पाइन्छ।

    कैलालीको लम्कीचुहा नगरपालिका–६ बस्ने आलमिन मियाँले कक्षा २ देखि नै मदरसा नुरुल हुदा आधारभूत विद्यालयमा अध्ययन गरिरहेका छन्। कक्षा ७ मा पढ्ने उनी भारतको लखनउमा तीन वर्षसम्म अध्ययन गर्दा सिकाइमा कुनै प्रगति हासिल नभएपछि रामपुर आएको बताउँछिन्। उनी भन्छिन्, “भारतमा राम्रो पढाई हुने आशाले पढ्न गएको थिए, तीन वर्षसम्म अध्ययन गर्दा उर्दुमात्र विषय पढियो, खाने बस्ने सुविधा राम्रो थिएन, नेपालका विद्यार्थी भनेर नराम्रो व्यवहार गरेपछि आफ्नै देश फर्केर पाल्पा रामपुरमा ज्ञानार्जनको थलो रोजेको हुँ”।

    कैलालीबाट रामपुर आउनजान गाडीमा एकतर्फी करिब १८ घण्टाको यात्रा गर्नु परे पनि यहाँको पढाइले गाउँबाट टाढा रहे पनि आफू सन्तुष्ट रहेको मियाँकाे अनुभव छ। टाढाबाट आउने विद्यार्थीलाई स्थानीयको तुलनामा शैक्षिक शुल्कमा सहुलियत, छात्रावासको व्यवस्था, पारिवारिक वातावरणमा पठनपाठन गर्न पाउने सुविधाले परिवारबाट टाढिएर बसेको अनुभूति नभएको उनले बताए।
    भाषा सुधार, उर्दूका अलवा अन्य विद्यालयमा जस्तै नेपाली र अङ्ग्रेजी माध्यममा पठनपाठन हुने, तराईका विद्यालयमा उर्दू मात्र पढाई हुने भएकाले धेरैजसो तराई मुलुकबाट मुस्लिम विद्यार्थी रामपुरमा आउने गरेको प्रधानाध्यापक मोहम्मद सलिम बताउँछन्। बाहिरबाट पढ्न आउने विद्यार्थीमा भाषामा अति नै समस्या रहेको, बाहिरका विद्यालयमा (मुस्लिम विद्यालय) कक्षा ८ उत्तीर्ण भएको विद्यार्थी यहाँ ५ कक्षामा भर्ना गरेर पढाउनु परेको प्रधानाध्यापक सलिमले जानकारी दिए।

    यहाँ भाषामा सुधार, धार्मिक विषय पढ्न पाउने भएपछि बाहिरका विद्यार्थीको आकर्षण बढेको छ। धेरै विद्यार्थी पढ्नका लागि सम्पर्कमा आउने गरे पनि विद्यालयमा सीमित भौतिक संरचना, छात्रावास, जनशक्ति रहेकाले सम्पर्कमा आएका सबै विद्यार्थी भर्ना गर्न नसकिएको विद्यालयका लेखापाल महम्मद अलि बताउँछन्।

    धार्मिक विद्यालयमा लुम्बिनी प्रदेशकै नमुना मदरसाको रुपमा पनि लिइन्छ। यस विद्यालयमा मुस्लिम समुदायका बालबालिकाले मात्रै अध्ययन गर्ने गर्दछन्। हाल विद्यालयमा छात्रा ८१, छात्र १३२ गरी जम्मा २१३ विद्यार्थी अध्ययनरत छन्। बाहिरबाट आएका सबै विद्यार्थी (८२ जना) लाई छात्रावासमा राखिएको छ।

    नेपाल सरकारका अनिवार्य सबै विषयसहित उर्दू, अरेबिक, दिनियाँत (नैतिक शिक्षा), कुरान, कम्प्युटर विषय पठनपाठन हुने गरेको छ। अन्य विद्यालयमा शनिबार बिदा हुने गरेकामा यहाँ शुक्रबार हप्तामा एक दिन बिदा दिने गरिएको छ। साढे दुई वर्षदेखिका बालबालिका विद्यालयमा भर्ना भई पढिरहेका छन्। रामपुरमा मदरसा स्थापना नहुँदा यस क्षेत्रका मुस्लिम समुदायका विद्यार्थी विराटनगर, भारतको आजमगढ, विहारमा गएर पढ्नुपर्ने अवस्था थियो। मदरसा खुलेपछि रामपुरका मात्र नभई छिमेकी जिल्ला तनहुँ, स्याङ्गजा, नवलपुर क्षेत्रका मुस्लिम समुदायका विद्यार्थीलाई पठनपाठनमा धेरै सजिलो भएको छ।

    कक्षा ८ उत्तीर्णपश्चात् भने मुस्लिम समुदायका विद्यार्थीलाई धार्मिक विषय अध्ययनका लागि सुनसरी तथा भारतका विभिन्न विद्यालयमा पुगेर पठनपाठन गर्नुपर्ने बाध्यता कायमै छ। रामपुरमा नै उच्च शिक्षा सम्मको पठनपाठनका लागि विद्यालयले पहल गरिरहेको छ भने तत्काल कक्षा ९ र १० सञ्चालन गर्ने र क्रमशः कक्षा ११ र १२ सुरु गर्ने योजना छ। पठनपाठन गर्न देशका विभिन्न जिल्लाका विद्यार्थी आउने गरेका छन्। नेपालगञ्ज, रुपन्देही, वीरगञ्ज, सुनसरी, भैरहवा, कैलाली, नवलपुर, तनहुँलगायतका विभिन्न जिल्लाका विद्यार्थी विद्यालयको छात्रावासमा बसेर अध्ययन गरिरहेका छन्।

    रामपुरको इस्लामपुर क्षेत्रका स्थानीय युवाले रोजगारको सिलसिलामा विदेशमा साङ्गठनिक रुपमा एकताबद्ध भएर हरेक महिना आफूले श्रमबापत पाएको मासिक तलबमध्ये केही रकम सङ्कलन गरेर विद्यालय सञ्चालनका लागि सहयोगार्थ पठाउने गरेका छन्। विद्यालयको छात्रावासमा राखिएको सहयोग बाकसमा पनि केही रकम सङ्कलन भइरहेको छ। विभिन्न सङ्घसंस्था, व्यक्तिबाट विद्यालयमा शैक्षिक पोशाक, स्टेशनरी सहयोग प्राप्त हुने गरेको छ। धार्मिक विद्यालयको रुपमा सञ्चालित भएकाले नेपाल सरकार शिक्षा मन्त्रालयबाट हरेकवर्ष रु पाँच लाख रकम अनुदानस्वरुप सहयोग प्राप्त हुने गरेको छ भने अन्य आवश्यक आर्थिक व्यवस्थापन विद्यालय आफैँले गरिरहेको छ।

    मुस्लिम समुदायका बालबालिकालाई शिक्षा दिन चन्दा उठाउने, विद्यार्थीबाट मुठ्ठीदान सङ्कलन (जकात फण्ट) कार्य भइरहेको छ। हरेक हप्ताको विहीबार विद्यार्थीले घरमा उत्पादन भएका विभिन्न अनाजहरु विद्यालयमा लैजाने गर्दछन्। यो कार्य विद्यालयमा नियमित रुपमा चलिरहन्छ। घरमा उत्पादन भएका विभिन्न अनाजहरु विद्यालय आउँदा विहीबारको दिन विद्यार्थीले प्रत्येक घरबाट अनिवार्य साथमै लिएर आउने गर्छन्।

    विद्यालयले मुठ्ठीदान ल्याउन अनिवार्य गरेको छैन। तर घरबाटै दैनिक विद्यालय अध्ययन गर्न आउने विद्यार्थी स्वयम् आफैँले आफूले सकेको अनाज मुठ्ठीदानको रुपमा ल्याउने गरेका छन्। यसरी मुठ्ठीदानबाट सङ्कलित अनाजले यहाँको छात्रावासमा बसोबास गर्ने विद्यार्थीक करिव चारदेखि छ महिनासम्म खाद्यान्न व्यवस्थापन हुने गरेको विद्यालयले जनाएको छ।

    विद्यालयमा सङ्कलन भइरहेको मुट्ठीदान कार्यक्रमले विद्यार्थीमा लिनुभन्दा पनि आफूसँग भएको केही अनाज दिनुपर्छ भन्ने नैतिक भावनाको विकास भएको छ। यहाँ बसोबास गर्ने मुस्लिम समुदायले घरमा उत्पादन भएका धान, गहुँ, मकैलगायतका अन्नबाली भित्र्याउने बेला उत्पादन भएको अन्नबापत एक मुरीको एक पाथी विद्यालयको नाममा छुट्टयाउने गर्दछन्। घरमा उत्पादन भएका तरकारी, फलफूललगायतका वस्तु छात्रावासमा बसोबास गर्ने विद्यार्थीका लागि स्थानीयले सहयोग गर्ने कार्य निरन्तर नै चलिरहेको छ। रामपुर नगरपालिका क्षेत्रमा १५० घरपरिवारका करिब आठ सय जनसङ्ख्याको बसोबास रहेको छ। वैदेशिक रोजगार, विभिन्न पेशा, व्यावसाय नै मुख्य आयस्रोत छ।

    यस विद्यालय २०५५ सालमा जिल्ला शिक्षा कार्यालयबाट स्वीकृति लिएर कक्षा १ देखि ५ सम्म सञ्चालन गरिएको हो भने २०६० मा भने छिमेकी विद्यालय सीताराम माध्यमिक विद्यालयसँग समन्वय गरेर कक्षा ७ सम्म चलाइयो। विसं २०६८ मा कक्षा ६ देखि ८ सम्मको विद्यालयले अनुमति लिएर आफ्नै भवनबाट कक्षा सुरु भयो। विद्यालयको नाममा पाँच रोपनी जग्गा छ। हाल साढे दुई रोपनी जग्गामा विद्यालय सञ्चालन भइरहेको छ। यस विद्यालय रामपुर नगरपालिकाभित्र उत्कृष्ट विद्यालयमा पर्दछ। हरेक वर्ष शैक्षिक गुणस्तर वृद्धि हासिल गर्दै समयानुकूल धार्मिक विषयका अलवा अन्य विषयमा विभिन्न प्रविधिमैत्री शिक्षा दिन सफल विद्यालय बनेको छ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर