• जेठ ८, २०८१ मंगलबार
    21 May, 2024, Tuesday

    गाउँमा झिनियाँको व्यापार फस्टाउँदै


    २०८० कार्तिक २९, बुधबार

    २०८० कार्तिक २९, बुधबार

    काठमाण्डौंः तिहार अर्थात भाइटीकामा कोशेलीका रूपमा प्रयोग हुने झिनियाँ व्यवसायीलाई यतिबेला पुर्याउन हम्मेहम्मे परेको छ । पहिला–पहिला सहरबजारमा मात्रै हुने झिनियाँको व्यापार पछिल्ला वर्षमा ग्रामीण भेगमा बढ्न थालेको छ ।

    गाउँमा झिनियाँको माग सह बजारकै तुलनामा बढ्दै गएको छ । एक दशक अघिदेखि झिनियाँ व्यवसायमा लागेका पाल्पा रामपुरका व्यवसायी रुद्रनारायण श्रेष्ठ सफल व्यवसायी हुन् । तिहार सुरु भएदेखि झिनियाँ बिक्रीमा उनको व्यस्तता बढ्दो छ ।

    उनी गाउँमा झिनियाँ उद्योग सुरुआत गर्ने पहिलो व्यवसायी हुन् । श्रेष्ठले यस व्यवसायबाट राम्रो सफलता पाएका छन् । उनले उत्पादन गरेको झिनियाँ गाउँका कुनाकाप्चासम्म पुग्ने गर्दछ । यस क्षेत्रकै पहिलो र पुरानो व्यवसायी भएकाले अधिकांश ग्राहक उहाँकै उद्योगबाट झिनियाँ खरिद गर्दछन् । श्रेष्ठले रामपुर नगरपालिका–५ स्थित राङभाङचोकमा उद्योगका रूपमा झिनियाँ सञ्चालन गरेका छन् ।

    गुणस्तरीय उत्पादन भएकाले गाउँमा खुद्रा तथा थोकरूपमा सहुलियत मूल्यमा दिनहुँ ठूलो परिमाणमा बिक्री हुने गर्दछ । पहिला बिक्रीका लागि सहरबजार नै भर पर्नु परेकामा अहिले गाउँ–गाउँका किराना पसल, स्थानीय ग्राहक नै धेरै बढ्न थालेको व्यवसायी श्रेष्ठले बताए ।

    “सुरुआतका क्रममा बिक्रीका लागि गाउँमा भन्दा विभिन्न सहरबजारमा नै पुग्नुपथ्र्यो, गाउँमा कम मात्रामा मात्रै व्यापार हुन्थ्यो”, उनले भने, “पछिल्ला वर्षमा ग्रामीण भेगमा नै धेरै व्यापार हुने गरेको छ, तिहारमा झिनियाँको व्यापार गर्न पहिलाजसो सहरबजार नै कुर्नुपर्ने अवस्था छैन ।”

    पूर्वखोला गाउँपालिकाको बिरकोटबाट व्यापार व्यवसाय गर्ने उद्देश्यले रामपुर आएका श्रेष्ठले कुखुरापालन व्यवसाय थालनी गरे । सोही क्रममा कालिका सिन्के चाउचाउ उद्योग स्थापना गरी व्यवसाय सञ्चालन गर्दै गर्दा झिनियाँ उद्योगलाई समेत अगाडि बढाए । उद्योग व्यवसायमा अरुले भन्दा भिन्न व्यवसाय गर्न र गाउँका बेरोजगार युवालाई रोजगार दिने गरी व्यवसाय सञ्चालन गर्ने श्रेष्ठले झिनियाँ उत्पादनका लागि सात जना कामदार व्यवस्थापन गरेका छन् । तिहारमा धेरै व्यापार हुने भएकाले वर्षायाम सकिएलगत्तै ठूलो परिमाणमा झिनियाँ उत्पादन गर्ने गरेको श्रेष्ठले बताए ।

    उनले भने, “माग धेरै आउने भएकाले चाडपर्व सुरु हुनुअघि तीन–चार महिनाअघिदेखि नै जनशक्ति थप गरेर बिहानदेखि साँझसम्म निरन्तर दैनिक ठूलो मात्रामा उत्पादन हुन्छ, अन्य समय पनि उत्पादनलाई निरन्तरता दिइरहेका छौँ, जुनसुकै समय पनि झिनियाँ ग्राहकले पाइरहनुहुन्छ ।”

    बाह्रै महिना झिनियाँ उत्पादन हुने भएकाले पनि उनको उद्योगमा झिनियाँ खरिद गर्ने ग्राहकको चहलपहल नै रहन्छ । अन्य उद्योगमा भन्दा राम्रो गुणस्तर र सहुलियतमा झिनियाँ पाइने भएकाले तिहारमा उनको उद्योगमा ग्राहकको ठूलो भीड लाग्दछ । यस वर्षको दसैँ र तिहारमा मात्रै श्रेष्ठले करिब रु पाँच लाखबराबरको झिनियाँबाट आम्दानी हुने बताए । अहिलेसम्म साढे चार लाखबराबरको झिनियाँ बिक्री गरिसकेका छन् भने रु ५० हजार बराबरको झिनियाँ बिक्री गर्न बाँकी रहेको उनले बताए । तिहारको दिन बिहानसम्म ग्राहक आउने भएकाले पनि तयारी अवस्थामा झिनियाँ राखेका छन् ।

    रामपुर नगरपालिकामा पहिलो व्यवसायका रूपमा श्रेष्ठले आजभन्दा एक दशकअघि झिनियाँ उद्योग सुरु गरेका हुन् । उनले सुरु गरेको व्यवसाय अहिले यस क्षेत्रमा फस्टाउँदै गएको छ । श्रेष्ठकै उत्प्रेरणामा यस क्षेत्रमा अन्य झिनियाँ व्यवसायी थपिँदै गएका छन् । रामपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले रामपुर बजारमा झिनियाँ उत्पादन नदेखेपछि उद्योग सुरु गरेको बताए ।

    सानो हाते साँचोबाट सुरु भएको व्यवसाय अहिले ठूलो उद्योगको रूपमा स्थापित भएको छ । व्यापार बढ्दै जादा हाल विद्युत्बाट चल्ने दुईवटा ठूला मेसिनबाट झिनियाँ उत्पादन गर्छन् । तिहारको बेलामा खुद्रामात्रै एक व्यक्तिले दाजुभाइलाई कोशेलीको रूपमा सगुनस्वरुप दिन ४० दर्जनसम्म झिनियाँ लैजाने गरेको श्रेष्ठका श्रीमती लक्ष्मी श्रेष्ठले बताए । यस वर्ष मौसम राम्रो भएकाले विगत वर्षमा भन्दा उत्पादन धेरै हुँदा ग्राहकको मागअनुसार पुर्याउने कोसिसमा रहेको उनले बताए ।

    “महिलालाई झिनियाँ उद्योग धेरै राम्रो छ, घरायसी कामकाज सकेर दिउँसोको समय झिनियाँ बनाएर राम्रो आयआर्जन गर्न सकिन्छ, लगानी धेरै गर्न नपर्ने भएपछि थोरै लगानीमा घरभित्रै बसेर दिनहुँ आम्दानी गर्न सकिने भएकाले यो व्यवसाय महिलाका लागि धेरै राम्रो बनेको छ”, उनले भने ।

    लामो समय झिनियाँ व्यवसायमा बिताउनुभएकी श्रेठलाई यसको उत्पादनसम्बन्धी ज्ञान र सीप राम्रो छ । सुरुआतका बखत एक्लै उत्पादन गर्ने श्रेष्ठले पछिल्ला वर्षमा झिनियाँको माग बढी आउन थालेपछि कामदार नै राखेर बनाउने गरेको बताए । यस व्यवसायमा आबद्ध रहेदेखि नै अरुको परनिर्भर हुनु नपरेको र आफूले सकुन्जेलसम्म व्यवसायलाई निरन्तरता दिने उनको सोच छ ।

    प्रतिदर्जन रु ९० मा बिक्री भइरहेको छ । अन्य उद्योगमा उत्पादन भएको झिनियाँभन्दा गुणस्तरीय, ठूला, खादा स्वाद राम्रो हुने भएकाले यस उद्योगबाटै भाइटीकामा दाजुभाइलाई सगुन दिन झिनियाँ खरिद गर्न नवलपुरको बौदिकाली रुचाङबाट (नवलपरासी सुस्तापूर्व) बस्ने गिमकली खण्डलुकले रामपुरमा आएको बताए । तिहारमा मात्रै स्थानीय बजारका अलवा तानसेन, आर्यभन्ज्याङ, बुटवल, नारायणघाट, कावासोतीलगायतका विभिन्न बजारमा झिनियाँ खपत भइरहेको छ । उत्पादन धेरै गर्न सकियो भने फाइदा राम्रो हुने भएकाले झिनियाँलाई उद्योगकै रूपमा व्यवसायीले बर्सेनि विस्तार गर्दै गएका छन् ।

    पहिला बजारमा झिनियाँ अहिलेजसो पर्याप्त मात्रामा पाइँदैनथ्यो । घर–घरमा तिहारमा हातले घुमाउने सानो साँचोले घरायसी प्रयोजनका लागि मात्रै झिनियाँ बनाउने चलन थियो । तर हिजोआज बजारमा जताततै पाइन थालेपछि घरमा पहिलाजसो झिनियाँ बनाउने कार्य गरिँदैन । त्यसकारण पनि बजारका पसल, उद्योगमा झिनियाँ खरिद गर्न जाने ग्राहक बढ्दै गएका हुन् । उद्योग तथा बजारमा जतिबेला पनि खरिद गर्न पाइने भएपछि ग्राहकलाई चाडपर्वका बेला झिनियाँ खरिद गर्न धेरै सहज भएको छ ।

    भाइटीका लगाइदिएपछि कोशेलीका रुपमा सगुनस्वरुप झिनियाँ, सेलरोटी, बस्त्र उपहारलगायतका विभिन्न मीठा–मीठा परिकार दिदीबहिनीले आफ्ना दाजुभाइलाई दिने चलन रहेकाले झिनियाँ तिहारमा अनिवार्यरूपमा प्रयोग गर्दै आइरहेको तनहुँको घिरिङ गाउँपालिका–४ स्थित गड्यौलीटारबाठ झिनियाँ खरिद गर्न उद्योगमा आएकी सुनिता कुमालले बताइन् ।

    अघिल्ला वर्षको तुलनामा यसपटक झिनियाँको माग धेरै छ । दसैँ सुरु भएदेखि नै तिहारलाई लक्षित गरी झिनियाँ तयार पारे पनि ग्राहकको मागअनुसार यसपटक बजार थेग्न मुस्किल परेको व्यवसायी बताउँछन् । झिनियाबाट राम्रो आम्दानी हुन थालेपछि हिजोआज महिलाको यो व्यवसायमा आकर्षण बढ्दो छ । घरमा बसेर कम लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने हुँदा ठूलो लगानी कसरी गर्ने भन्ने पिरलो छैन । झट्ट नबिग्रने हुँदा जुनसुकै समय उत्पादन भएको झिनियाँ भण्डारण गरेर बजारमा पठाउन सकिन्छ ।

    गाउँमा सवारीसाधनको सुविधा पुगेपछि गाडीमा ढुवानी गरेर झिनियाँ बजार पठाउन सजिलो छ । बिहान–साँझ घरधन्दा सकाएर महिलाले दिउँसोको समय झिनियाँ उत्पादन गरेर आफ्नो जीविका धानेका छन् । यसले पनि महिला परनिर्भरता हट्दै गएको छ । तिहारबाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघेसङ्क्रान्ति, तीजलगायतका विभिन्न पर्व र शुभकार्यमा यसको प्रयोग बढ्दो छ । चामलको पिठोलाई पकाएर मेसिनको सहायताले झिनियाँ बनाई सुकाएर तयार गर्ने गरिन्छ । महिलाले मात्रै सञ्चालन गर्न सकिने भएपछि गाउँ–गाउँमा घरेलु उद्योगअन्तर्गत झिनियाँ उद्योग विस्तार हुन थालेको छ । लगानी धेरै गर्न नपर्ने, बिहान साँझ घरायसी कामधन्दाका अलवा, छोराछोरी विद्यालय पठाएपछिको समय सदुपयोग गर्दै झिनियाँ बनाएर महिलाले आफ्नो खर्च चलाउन सक्ने भएका छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर