• असार १८, २०८२ बुधबार
    02 Jul, 2025, Wednesday

    धनुषा पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा


    २०८१ असार १०, सोमबार
    धनुषा पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा

    २०८१ असार १०, सोमबार

    जनकपुरधाम । धनुषा आजदेखि पूर्ण खोप सुनिश्चितता भएको जिल्लाको रुपमा घोषणा भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय धनुषाले आज जनकपुरधाममा पूर्ण खोप सुनिश्चितता सम्बन्धि विशेष कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री केशव रायले पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गर्नुभयो ।

    योसँगै मधेश प्रदेशमा पूर्ण खोप सुनिश्चितता घोषणा भएको जिल्लाको सङ्ख्या ६ पुगेको छ ।

    पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री रायले खोप लिने उमेर समूहका बालबालिकाहरूलाई रोगसँग लड्नका लागि समयमा खोप लगाउन आवश्यक रहेको बताउनुभयो ।

    उहाँले पूर्ण खोप सुनिश्चितता भएको घोषणालाई निरन्तरता दिनका लागि स्वास्थ्यकर्मीहरूको अहम् भूमिका हुने बताउनुभयो ।

    मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा.राजीव झाले मधेश प्रदेश सुगम जिल्ला भएपनि विभिन्न कारणले पूर्ण खोप सुनिश्चितता घोषणामा ढिलाइ भएको भन्नुहुँदै अबको दुई दिनमा बाँकी रहेको महोत्तरी र रौतहट जिल्ला पूर्ण खोप घोषणा गरी असार १५ गते प्रदेशलाई नै पूर्ण खोपको सुनिश्चितता भएको प्रदेशको रुपमा घोषणा गर्ने बताउनुभयो ।

    राष्ट्रिय खोप समितिका सदस्य डा. हुकुमदेव साहले पूर्ण खोप सुनिश्चितता जिल्ला भएसँगै यसलाई निरन्तरता दिनका लागि नयाँ जन्म लिने कुनै बालबालिकाहरू खोप लिनबाट बञ्चित नहोस् भन्नेतर्फ ध्यान दिनका लागि आग्रह गर्नुभयो ।

    धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले धनुषा जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा भएसँगै स्वास्थ्यकर्मीहरूको जिम्मेवारी थप वृद्धि भएको बताउँदै खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि सुझाव दिनुभयो ।

    स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेशकुमार यादवले धनुषा जिल्लाका खोप लिने उमेर समूहका सबै बालबालिका पूर्ण खोप लिएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने गरिएको बताउनुभयो ।

    कार्यक्रममा जिल्लालाई पूर्ण खोप सुनिश्चितता गराउन विशेष योगदान दिनुभएका स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादव, विभिन्न पालिकाका खोप तथा स्वास्थ्य शाखाका प्रमुखहरूलाई दोसल्ला ओढाएर कदर पत्र प्रदान गर्दै सम्मानित गरिएको थियो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर