काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ । आज काठमाडौंमा सम्पन्न दुवै पार्टीका शीर्ष नेताहरूको संयुक्त बैठकले औपचारिक रूपमा एकताको निर्णय गरेको हो ।
जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसहित पदाधिकारीहरूको उपस्थितिमा भएको बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई थप संस्थागत र सुदृढ बनाउने उद्देश्यसहित पार्टी एकीकरणमा जाने सहमति गरेको जनाएको छ ।
अध्यक्षद्वयद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा सङ्घीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा अग्रगामी परिवर्तनका मुद्दालाई अझ मजबुत बनाउँदै न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्नु एकताको मूल आधार रहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा जनताको अधिकार सुनिश्चित गर्ने, मधेस तथा सीमान्तकृत समुदायका आवाजलाई राष्ट्रिय राजनीतिमा प्रभावकारी रूपमा स्थापित गर्ने र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्दै साझा राजनीतिक यात्रा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
पार्टी एकतापछि संगठनात्मक संरचना, नेतृत्व व्यवस्थापन तथा भावी कार्यदिशाबारे आवश्यक छलफल र कार्ययोजना छिट्टै सार्वजनिक गरिने दुवै पार्टीका नेताहरूले बताएका छन् ।




