• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    एकसट्ठी जिल्लामा डेङ्गु सङ्क्रमण पुष्टि


    २०८१ जेठ १८, शुक्रबार

    २०८१ जेठ १८, शुक्रबार

    काठमाडौँ, जेठ १८ गते । अघिल्ला वर्षमा महामारीकै रूपमा फैलिएको डेङ्गु रोगको सङक्रमण यस वर्ष पनि प्रकोपकै रूपमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्ममा देशका ६१ जिल्लामा डेङ्गु रोग सङक्रमण पुष्टि भएको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत डेङ्गु रोग नियन्त्रण प्रमुख डा. गोकर्ण दाहालले यस वर्ष डेङ्गुको सङ्क्रमण तीव्र रूपमा फैलिएको बताउनुभयो । उहाँका अनुसार जनवरी (पुस–माघ) यता एक हजार सात जना डेङ्गुका बिरामी भेटिएका छन् ।

    नेपालमा सन् २०१९ मा १७ हजार ९९२ जनामा डेङ्गु पुष्टि भएको थियो । सन् २०२० मा ५३०, सन् २०२१ मा ५४०, सन् २०२२ मा ५४ हजार ७८४ र सन् २०२३ मा ५१ हजार २४३ जनामा डेङ्गु पुष्टि भएको महाशाखाले जनाएको छ । सन् २०२२ मा नेपालमा डेङ्गुबाट ८८ जना र सन् २०२३ मा २० जनाको मृत्यु भयो ।

    सचेतना र लामखुट्टे नष्ट गर्ने अभियान

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गु नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ । डा. दाहालले डेङ्गु नियन्त्रणमा शिक्षा, खानेपानी, वन, स्थानीय, विभिन्न सङ्घ संस्थाको भूमिका रहने बताउनुभयो । उहाँले स्वास्थ्य मन्त्रालयले मात्र डेङ्गु नियन्त्रण गर्न कठिन हुने भएकाले सहकार्य आवश्यक रहेको बताउनुभयो । डेङ्गुको सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न सरसफाइमा ध्यान दिनुपर्ने औँल्याउँदै उहाँले डेङ्गुको जोखिम हुने जिल्लाको पहिचान गरेर लामखुट्टे नष्ट गर्ने अभियान सञ्चालन गर्न ३३ स्थानीय तहलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

    डा. दाहालले डेङ्गुसम्बन्धी सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको र स्वास्थ्य संस्थामा फोकल व्यक्ति तोक्ने, डेङ्गुको उपचारमा चाहिने सामग्री तयारी अवस्थामा राख्ने, सबै जिल्लामा रोकथामका लागि सचेतना अभियान सुरु भइसकेको बताउनुभयो । डेङ्गु नियन्त्रण तथा रोकथाम कार्ययोजना अनुसार काम अगाडि बढेको उहाँले बताउनुभयो । उहाँले मासिक योजना अनुसार सूचना सम्प्रेषण, डेङ्गुको व्यवस्थापन गर्ने र सचेतना फैलाइने बताउनुभयो ।

    गत वर्ष महामारीको रूप लिएका १२ वटा जिल्लाका १२३ स्थानीय तहमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले स्थानीय तहका प्रमुख/अध्यक्ष, स्वास्थ्य शाखाका प्रमुख, प्रदेशका प्रतिनिधिलाई राखेर सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

    स्थानीय तहले डेङ्गु अझै बढ्ने हुँदा लामखुट्टे नियन्त्रण गर्ने र डेङ्गुबाट जोगाउने अभियान चलाइएको जानकारी दिँदै डा. दाहालले घरमा पानी जम्ने खाल्टाखुल्टी नराख्ने र पूरा बाउला भएको कपडा लगाउनुपर्ने बताउनुभयो ।

    कसरी सर्छ डेङ्गु ?

    एडिज जातका लामखुट्टेको टोकाइबाट डेङ्गु रोग सर्छ । एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्छ । उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशी दुख्नु, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, आँखाको गेडी दुख्नु, वाकवाकी लाग्नु वा बान्ता हुनु डेङ्गुका लक्षण हुन् । डा. दाहालले डेङ्गु नियन्त्रण गर्न ‘टास्क फोर्स’ गठन भएको र यसले सम्पूर्ण काम गर्ने बताउनुभयो ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले डेङ्गु नियन्त्रण गर्न सबैको सहकार्य अवश्यक रहेको बताउनुभयो । उहाँले डेङ्गु नियन्त्रण गर्न कृषि, खानेपानी, वातावरण, शिक्षा मन्त्रालयको सहकार्य आवश्यक पर्ने बताउनुभयो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निवर्तमान प्रमुख डा. रुद्र मरासिनीले डेङ्गु नियन्त्रणका लागि कवाडी सङ्घ, टायर बिक्रीवितरण सङ्घ जस्ता सङ्घ संस्थालाई तालिम दिने गरेको बताउनुभयो । उहाँले आफ्नो घरमा भएको टायर व्यवस्थित गर्ने, जथाभाबी नफाल्ने, पानी जम्मा गर्ने भाँडा बेला बेलामा सफा गर्नुपर्ने बताउनुभयो ।  गोरखापत्र

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर