• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    तराईमा लु का कारण बिरामी हुनेको सङ्ख्या बढ्यो, सचेत हुन स्वास्थ्यकर्मीहरूको आग्रह


    २०८१ वैशाख २०, बिहिबार

    २०८१ वैशाख २०, बिहिबार

    बाँके । अत्यधिक बढेको गर्मी र नियमित चलिरहेको तातो हावा लु का कारण बिरामी हुनेको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । बिरामी हुनेमा बालबालिका सबैभन्दा बढी छन् ।

    अत्यधिक गर्मी र तातो हावाका कारण बिरामी पर्ने बालबालिकाको सङ्ख्या बढ्दै गएको भेरी अस्पतालहरूले जनाएको छ । भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. सङ्केत कुमार रिसालले अहिलेको गर्मीबाट रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका बढी प्रभावित भएको बताउनुभयो । उहाँले भेरी अस्पतालमा आउने बालबालिकामा ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने समस्या देखिएको जानकारी दिनु भयो ।

    सूचना अधिकारी डा. रिसालले मौसमी फ्लुबाट प्रभावित भएका बालबालिकालाई निको हुन सामान्यता चारदेखि पाँच दिन लाग्ने जनाउँदै अत्यधिक गर्मीका कारण बढेको मौसमी फ्लुबाट जोगिन घरकै खाना खाने, पानी धेरै पिउने, सफा खाने कुरा मात्र खाने, घाममा नबस्ने र धेरै हिँडडुल नगर्न सुझाव दिनु भएको छ ।

    सूचना अधिकारी डा. रिसालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट प्रभावित बनेका सय भन्दा बढी बालबालिका र ४० जना भन्दा बढी युवा र बृद्धबृद्धा अस्पतालको ‘ओपिडी’ मा दैनिक उपचारका लागि आउने गरेको बताउनु भयो ।

    कान्ति आरोग्य अस्पतालका बाल रोग विशेषज्ञ डा रोमा बोराले गर्मीकै कारण बिरामी बालबालिका दैनिक २५ देखि ३० जनासम्म उपचारका लागि आउने गरेको बताउनुभयो । उहाँका अनुसार धेरैजसो बालबालिकामा ज्वरो, रुघाखोकी र झाडापखालाको समस्या देखिएको छ । डा. बोराले बालबालिकालाई घरबाट बाहिर निस्कन नदिने, सकेसम्म मास्क लगाइदिने, हाँच्छु गर्दा कुहिनाले छापेर गर्न लगाउने र झोलिलो कुरा खुवाउनु पर्ने सुझाव दिनु भयो ।

    यस्तै लाइफलाइन हस्पिटल नेपालगन्जका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा मिर्गौला रोग विशेषज्ञ डा. पारस श्रेष्ठले अत्यधिक गर्मीले भएको रुघाखोकी र भाइरल फ्लुबाट प्रभावित हुने मजदुर, बृद्धबृद्धा र बालबालिकाको सङ्ख्या दिनदिनै बढ्दै गएको बताउनुभयो ।

    अत्यधिक गर्मी बढेपछि अहिले बाँकेको बैजनाथ गाउँपालिकाले विद्यालय शनिवारसम्मका लागि बन्द गरेको जनाएको छ । विद्यालय बन्द गरिएपछि बालबालिकालाई घरभित्र राख्न सहज भएको अधिकांश अभिभावकले जनाएका छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर