• वैशाख १६, २०८१ आइतबार
    28 Apr, 2024, Sunday

    पचासी हजार भेडाबाख्रालाई पिपिआरविरुद्धको खोप


    २०८० फागुण २८, सोमबार

    २०८० फागुण २८, सोमबार

    काठमाण्डौं : चितवनमा ८५ हजार १८ भेडाबाख्रालाई पिपिआरविरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरले यही फागुन १६ देखि २२ गतेसम्म सञ्चालन गरेको अभियानका क्रममा ती भेडाबाख्रालाई खोप लगाइएको हो ।

    कार्यालयका अधिकृत भीमदत्त भट्टका अनुसार ३६ हजार सात सय ५८ पाठापाठी तथा ४८ हजार दुई सय ६० वयस्क बाख्रालाई खोप लगाइएको छ । जिल्लाका सात पालिकामा उक्त खोप लगाइएको उहाँले जानकारी दिनुभयो । बाख्रामा भाइरसका कारण पिपिआर रोग सर्ने गर्दछ । यो बाख्रामा लाग्ने सरुवा रोग हो ।

    यसले गर्दा बाख्रालाई ज्वरो आउने, बाक्लो सिङ्गान बग्ने, खाना नखाने, झोक्राउने र अन्तिममा मर्ने हुन्छ । यसबाट बचाउनका लागि व्यावसायिक बाख्रापालन गर्ने किसानले नियमित रेखदेख गर्ने, जैविक सुरक्षामा ध्यान दिने, बाहिरबाट खरिद गरी ल्याइएका बाख्रालाई खोप लगाएर वा रोगको छ छैन परीक्षण गरेर मात्र खोरमा मिसाउने गर्नुपर्ने अधिकृत भट्टको सुझाव छ ।

    जिल्लामा हाल दुई सय १६ व्यावसायिक बाख्रा फार्म छन् । ती फार्ममा तीन लाख १३ हजार ६ सय २९ बाख्रा पालिएका छन् । यसैगरी, तीन हजार आठ सय २५ भेडा पालिएको अधिकृत भट्टले जानकारी दिनुभयो । पालिएका बाख्रा धेरै हुनु र अभियानमा खोप लगाउनेको सङ्ख्या कम हुनाका कारण रोगको जोखिम समयमा नै धेरै किसानले खोप लगाइसक्ने र बाख्रा ब्याउने समयमा खोप लगाउन नहुने भएकाले थोरै देखिएको हो ।

    अधिकृत भट्टले भन्नुभयो, “व्यावसायिक किसानले खोप कुरेर नबस्ने हुँदा अभियानमा थोरै मात्रामा खोप लगाउने देखिएको हो ।” अभियानअन्तर्गत एक लाख ४३ हजार बाख्रालाई खोप लगाउने लक्ष्य लिएको थियो । प्रदेश सरकारले हरेक वर्ष अभियानका रुपमा बाख्रामा पिपिआर खोप लगाउने गरिएको छ । यो खोप भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रमा निःशुल्क उपलब्ध हुँदै आएको छ । रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर