• वैशाख १७, २०८१ सोमबार
    29 Apr, 2024, Monday

    उदयपुर जिल्ला अस्पतालमा हेमो डायलासिस सेवा सुरु


    २०८० पुष ३, मंगलबार

    २०८० पुष ३, मंगलबार

    काठमाण्डौंः उदयपुरको जिल्ला अस्पताल गाईघाटमा हेमो डायलासिस सेवा सुरु गरिएको छ । सोमवार उदयपुर जिल्ला निर्वाचन क्षेत्र नं १ का संघीय सांसद डा. नारायण खड्काले एक कार्यक्रमका बिच उद्घाटन गर्दै सेवा सुरु गर्नुभएको हो ।

    डायलासिस सेवाको शुभारम्भ गर्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका उदयपुर निर्वाचन क्षेत्र नं १ का संघीय सांसद डा. नारायण खड्काले अस्पतालको स्तरोन्नतिका लागि आफूले सक्दो सहयोग गर्ने र सेवा सुविधा, भौतिक पूर्वाधार जनशक्ति लगायतका विषयमा सम्बन्धित निकायमा गएर आवश्यक पहल गर्नुका साथै आवश्यक पर्ने अन्य उपकरणहरू समेतको व्यवस्थापनमा सहयोग गर्ने बताउनु भयो ।

    डा. खड्काले यो जिल्ला अस्पतालबाट थप उपचारका लागि बिरामीहरूले बाहिर जाने अवस्था आउन नदिन र बाहिरका बिरामीलाई यस अस्पतालमा ल्याएर उपचार गर्ने स्वास्थ्य केन्द्रका रुपमा कोशी प्रदेश कै अझ उत्कृष्ट अस्पताल बनाउनेतिर आफ्नो ध्यान केन्द्रित हुने बताउनु भयो ।

    डायलासिस सेवा शुभारम्भ कार्यक्रममा कोशी प्रदेश सभा सदस्य माननीय गीता रेग्मीले अस्पताललाई श्रोत र साधनले पूर्ण बनाउन आफू पनि निरन्तर लागि परेको जानकारी दिँदै स्वास्थ्य क्षेत्रको सुधारका लागि सबैको सहयोग अपरिहार्य भएको बताउनु भयो ।

    त्रियुगा नगरपालिकाका प्रमुख बसन्त बस्नेतले नगरपालिकाको तर्फबाट गर्नु पर्ने सहयोग निरन्तर गरिरहने जानकारी दिँदै भवन तथा अन्य भौतिक पूर्वाधारको अभाव रहेकोले आफूले प्रदेश सरकारका मुख्य मन्त्री तथा स्वास्थ्य सचिवसँग भेटेर अस्पतालको स्तरोन्नतिका लागि आवश्यक कुरा राखेर पहल गरिरहेको बताउनु भयो ।

    अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख गौर बहादुर विश्वकर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा कोशी प्रदेश सभाका माननीय सदस्यहरु गीता रेग्मी, सम्झना तामाङ, लिला राई, रामकुमार खत्री, वरिष्ठ पत्रकार कौशल चेम्जोङ, नेपाल पत्रकार महासङ्घ उदयपुरका अध्यक्ष भरत खड्का लगायतका वक्ताहरूले शुभकामना मन्तव्य दिएका थिए ।

    अस्पतालका डा. रञ्जित राउतको स्वागत मन्तव्यबाट प्रारम्भ भएको सो कार्यक्रममा कार्यक्रम सञ्चालक तथा अस्पतालका सूचना अधिकारी योगेश्वर खनालले नगरपालिकाले १५ जना करार सेवाका कर्मचारी उपलब्ध गराएको जानकारी दिएका छन् । अस्पतालको थप दुई वटा भवन निर्माणका लागि २६ करोड र ३६ करोडको लागतमा ३०० बेड क्षमताको अस्पताल भवन बनाउन विस्तृत परियोजना विवरण डिपिआर तयार भैसकेको जानकारी पनि सूचना अधिकारी खनाल दिएका छन् ।

    कोशी प्रदेश सरकारको स्वास्थ्य सेवा विभागले गरेको मूल्याङ्कनमा सबैभन्दा बढी ८३ अङ्क ल्याएर प्रदेश कै उत्कृष्ट अस्पताल भएको उदयपुर जिल्ला अस्पतालमा अबदेखि मृगौलाका बिरामीहरूको सहज र सरल तरिकाले उपचार हुने भएको हो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर