• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    महिनावारी रोकिएको कसरी थाहा पाउने ?


    २०८० कार्तिक ५, आइतबार

    २०८० कार्तिक ५, आइतबार

    काठमाण्डौंः महिनावारी महिलाहरुमा हुने एक प्राकृतिक प्रकिया हो । हाम्रो समाजमा अझैं पनि महिनावारीको विषयमा खुलेर कुरा गर्न असहज महसुस गर्छन् । महिनावारी हुनु भने अछुतो हुन हो भन्ने परम्परागत रुढीबादी अझैं पनि हाम्रो समाजमा कायमै छ । सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुराका ग्रामीण क्षेत्रमा महिलाहरूले रजस्वला भएको बेला घरका कुनैपनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास कायम छ। त्यसैले यस्तो बेलामा रजस्वला भएकी नारीलाई घरभन्दा केहीपर बनाइएको झुपडीमा बस्न लगाइन्छ।

    साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा हुने गर्दछ । अझ कसै–कसैमा त आठ बर्षदेखि नै महिनावारीका लक्षण देखा पर्दछ । महिनावारीको अन्तर २७, २८ दिनको हुने गर्दछ । यसरी सुरु भएको महिलाहरुको महिनावारी ४५ देखि ५५ वर्षको उमेर भित्रमा बन्द हुने गर्दछ । तर, धेरै महिलालाई आफ्नो महिनावारी बन्द हुने अवस्थाका बारेमा जानकारी नहुँदा विभिन्न समस्या हुने गरेको पाइन्छ । महिनावारी भइरहेका महिलामा लगातार छ महिनादेखि एक वर्षसम्म महिनावारी नभएमा बन्द हुने अवस्थामा पुगेको मानिन्छ ।

    महिलाहरुको महिनावारी ४५ वर्षदेखि ५५ वर्षभित्र बन्द हुने भए पनि धूमपान र कुपोषणका कारण पनि सो समय अगावै बन्द हुने गर्दछ । यस्तै एक अनुसन्धानकर्ताहरूले सर्वेक्षणमा सहभागी महिला समूहको महिनावारी रोकिने औसत उमेर ५१ वर्ष भएको उल्लेख गरेको छ । तर एउटा नयाँ अध्ययनले भने तेलयुक्त माछा खानाले महिलाहरुको महिनावारी रोकिने प्राकृतिक समय केहीँ बर्ष पर सार्ने देखाएको छ । पौष्टिक युक्त खानपानले पनि महिलाको महिनावारी रोकिने समय निर्धारण गर्दछ ।

    उमेर पुगेका कारणले अण्डाशयको कार्यह्रास हुँदै जानु, प्रजनन प्रणालीमा गम्भीर सङ्क्रमण या अस्वाभाविक मासुको डल्ला बढ्नु र कुनै प्रकारको विकिरण वा डिम्ब विकास हुनमा बाधा परेमा पनि महिनावारी रोकिन सक्छ । कुनै शल्यक्रिया गरी पाठेघर र डिम्बाशय निकालेमा पनि महिनावारी बन्द हुन सक्छ । महिनावारी बन्द भएपछि केही महिलामा हाड कमजोर हुने, पिसाब रोक्न नसकिने, पाठेघर बाहिर आउने वा आङ खस्ने, मुटु रोग देखा पर्ने, दृष्टि कमजोर हुँदै जाने, तौल बढ्ने र कसैकसैलाई स्तन क्यान्सर पनि हुने गर्दछ ।

    महिनावारी रोकिनु अघि महिलाहरुलाई विभिन्न लक्षणहरु देखा पर्दछ । जस्तै अनुहार घाँटी तातो हुनु , राति पसिना आउने , निन्द्रा नलाग्ने, टाउको दुख्ने समस्याहरु देखा पर्दछ । साथै यौनक्रियामा मन नलाग्ने, हातखुट्टाका जोर्नी दुख्ने, योनी सुक्खा हुने, पिसाब छिटोछिटो लाग्ने, पिसाब रोक्न गाह्रो हुने, छाला सुक्खा हुने र शरीरमा केही हिँडेको जस्तो अनुभव हुने गर्दछ । ४५ देखि ५५ वर्ष उमेर समुहका महिलाहरुमा यस्ता यस्ता लक्षणहरु देखा परे महिनावारी बन्द हुने संकेत हो ।

    यस्तो समयमा महिलाहरु निकै कम्जोर हुने गर्दछन् । उनीहरु शरिरिक रुपमा त कम्जोर हुन्छन् नै मानसिक रुपमा पनि विछिप्त हुने गर्दछन् । यो समयमा परिवारको साथ सबै भन्दा महत्व हुन्छ । महिनावारी रोकिने समयमा महिलाहरुलाई आरामको सबै भन्दा धेरै जरुरत पर्दछ । साथै धुम्रपान, मद्यपान नगर्ने, कफी, चिया, नुन र चिल्लो कम खाने, योगा, ध्यान गर्ने, चाख लाग्दा किताब पढ्ने गर्नु पर्दछ । यस्तै रमाइलो क्रियाकलापमा शारीरिक सक्रियतालाई निरन्तरता दिई तल्लो पेटको मांशपेसीलाई खुम्च्याउने खालको व्यायाम गर्ने गर्नुपर्दछ । बेलाबेलामा स्वास्थ्य परीक्षण गराउने र गह्रौँखालका सामान नउठाउने र महिनाको एकपटक स्तन आफैँले जाँच गर्ने गर्नुपर्छ ।

    महिलाहरुमा महिनावारी हुन जस्तै महिनावारी रोकिनु पनि एक सामान्य शारीरिक प्रक्रिया हो । यो समयमा महिलाले आफ्नो स्वास्थ्यको सरसफाईमा विशेष ध्यान दिन जरुरी हुन्छ । एजेन्सी

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर