• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    अब पैसा नहुनेले पनि उपचार पाउनुपर्छः मन्त्री जोशी


    २०८० असोज ७, आइतबार

    २०८० असोज ७, आइतबार

    काठमाण्डौंः बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले अब पैसा नहुनेले पनि उपचार पाउनुपर्ने बताएका छन्।

    मन्त्रालयले आइतबार भरतपुर अस्पतालमा आयोजना गरेको ‘सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम, सार्वजनिकीकरण तथा सम्झौता हस्ताक्षर कार्यक्रम’ मा बोल्दै उनले संघ र प्रदेशको सामाजिक स्वास्थ्य सुरक्षाको कार्यक्रमअन्तर्गत सबैलाई जोडेर अकालमा ज्यान जाने अवस्था अन्त्य हुनुपर्ने बताएका हुन्।

    संविधानमै स्वास्थ्य भनेको नैसर्गिक अधिकार हो भनेर लेखिएको भन्दै उनले स्वास्थ्य सबैको पहुँचमा पुग्नुपर्ने बताए।

    ‘हुनेखाने वर्गको हातमा मात्रै शिक्षा र स्वास्थ्य छ। हुँदा खाने वर्गको हातमा पनि शिक्षा र स्वास्थ्य पुर्‍याउनुपर्छ भनेर अहिले तीनै तहका सरकार लाग्नुपर्छ, लाग्छौं,’ उनले भने।

    आममानिसलाई प्रदेश सरकारले गरेको कामबारे थाहा नभएको भन्दै उनले प्रदेशले दिएको सामाजिक सुरक्षाको अधिकतम उपभोग गर्न आग्रह गरे। आफू मन्त्री नहुँदासम्म पनि प्रदेश सरकारले गरेका धेरैजसो कामबारे अनभिज्ञ रहेको उनको भनाइ थियो। उनले प्रदेश सरकारले गरेको काम जनतासमक्ष पुर्‍याएर त्यसको लाभ सार्वसाधारणलाई दिलाउनुपर्ने बताए।

    ‘सरकार छ भन्ने अनुभूति दिन हुँदा खाने वर्गको अकालमा ज्यान जान हुँदैन भनेर सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम ल्याएका हौं,’ उनले भने।

    बागमती प्रदेशवासीलाई क्यान्सर उपचारमा संघीय सरकारले दिने एक लाख रूपैयाँपछि थप ५० हजार रूपैयाँ प्रदेशले व्यवस्था गरेको भन्दै त्यसको उपभोग सर्वसाधारणले गर्न पाउनुपर्ने बताए। ‘सर्वसाधारणलाई प्रदेशले ५० हजार रूपैयाँ दिन्छ भन्ने थाहै छैन,’ उनले भने।

    यसैगरी हृदयघात उपचारका लागि एक लाख १० हजार रूपैयाँसम्म निःशुल्क व्यवस्था गरिएको, प्रदेशभित्रका बिरामीका लागि रगत निःशुल्क गरिएको भन्दै उनले यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। उनले स्वघोषणा गरेर निःशुल्क रगत पाउने व्यवस्था गरिएको बताए।

    प्रदेशअन्तर्गतका १३ वटा अस्पतालमा ६५ वर्षमाथिका वृद्धवृद्धालाई दन्त सेवा निःशुल्क गरिएको सो अवसरमा मन्त्री जोशीले जानकारी दिए।

    उनले प्रदेश सरकारसँग सम्झौता गरेका अस्पतालले प्रदेशले दिएको सहुलियत सर्वसाधारणले देख्ने गरी लेख्न निर्देशन दिए।

    ‘सर्वसाधारणले देख्ने गरी प्रदेशले यी सहुलियत दिएको छ भनेर साइनबोर्ड राख्नुहोस्,’ उनले भने।

    मन्त्री जोशीले प्रदेशका स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमाको ५० प्रतिशत प्रदेश स्वास्थ्य मन्त्रालयले बेहोर्ने बताए।

    उनले भने, ‘संघीय सरकारले ५० प्रतिशत दिएको छ। प्रदेशले ५० प्रतिशत दिन्छ। स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बीमा हुन्छ।’

    सो अवसरमा हृदयघात उपचारका लागि भरतपुर अस्पतालसँग, क्यान्सर उपचारका लागि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, नेसनल सिटी अस्पताल र भरतपुर सेन्ट्रल अस्पतालसँग बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले सम्झौता गरेको छ।

    यसैगरी रगत निःशुल्क गर्न नेपाल रेडक्रस सोसाइटी चितवनसँग सम्झौता भएको छ। बीमा बोर्ड भरतपुरसँग स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमाका लागि सम्झौता गरिएको छ।

    कार्यक्रममा प्रदेश सभा सदस्य माया श्रेष्ठ, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, मेडिकल सुपरिटेन्डेन्ट प्राध्यापक डाक्टर कृष्णप्रसाद पौडेल, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका निमित्त सचिव दीपक तिवारी, मन्त्रालयको चिकित्सा सेवा महाशाखा प्रमुख डाक्टर खगेश्वर गेलाल लगायतले आफना भनाइ राखेका थिए।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर