• वैशाख १५, २०८१ शनिबार
    27 Apr, 2024, Saturday

    आउन थाले पर्यटक


    २०७७ पुष ८, बुधबार

    २०७७ पुष ८, बुधबार

    काठमाण्डौः नौ महिनापछि हनुमानढोका क्षेत्रमा क्रमिकरूपमा पर्यटक आउन थालेका छन् ।

    विश्वभरि फैलिएको कोरोना भाइरस सङ्क्रमण त्रासका कारण गत चैतको पहिलो सातादेखि अवलोकनका लागि पूर्णरूपमा बन्द रहेको हनुमानढोका खुला भएसँगै आन्तरिक र बाह्य पर्यटक आउन थालेका हुन् । यहाँ अहिले दैनिक १०० पर्यटक आउने गरेका छन् । आन्तरिकको तुलनामा बाह्य पर्यटक कम छन् ।

    हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालका अनुसार हरेक दिन आगन्तुकहरु आउने क्रम बढेको छ । गत मङ्सिर ३ गतेबाट पुनः सञ्चालनमा आएको वसन्तपुर क्षेत्रमा विद्यालय सञ्चालनमा नआएकाले आन्तरिक पर्यटक पनि अपेक्षाअनुरुप आएका छैनन् । यहाँ अवलोककर्ताको प्रवेश शुल्कबाट नै वार्षिक करिब रु १२ करोडसम्म असुल हुने गरेको थियो । प्रवेशका लागि विदेशीलाई रु एक हजार र नेपालीका लागि भने रु ३० निर्धारण गरिएको छ ।

    राणाकालीन र मल्लकालीन वस्तुकला नै मुख्य आकषर्णको केन्द्र बनेको वसन्तपुर क्षेत्रमा भूकम्पका कारण पूर्णरूपमा क्षति भएको ऐतिहासिक सम्पदाको पुनःनिर्माणको काम पनि भइरहेको छ । अड्डाले गद्दी बैठक पनि अवलोकनकर्ताका लागि खुला गर्ने तयारीे रहेको बताएको छ । भूकम्पकै कारण भत्किएको गद्दी बैठकको पुनःनिर्माण काम सम्पन्न भइसकेको छ । वसन्तपुरको प्रमुख सम्पदाको रूपमा रहेको काष्ठमाण्डप पनि आगामी वैशाखमा पुनःनिर्माण सम्पन्न हुने गरी निर्माणको काम अघि बढिरहेको छ । कोरोनाकै कारण केही समय पुनःनिर्माणको काममा बाधा आए पनि पछिल्लो समय तीव्ररूपमा काम भइरहेको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर