काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनाहरू नेपालको इतिहासकै अकल्पनीय र दुःखद घटना भएकाे बताएका छन् । सोमबार दसैंको शुभकामना सन्देश जारी गर्दै उनले यस्ताे बताएका हुन् ।
उनले भने, “भदौ २४ गतेको प्रदर्शनमा हिंसात्मक गतिविधिमा संलग्न आपराधिक समूहले राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालयहरू लगायत सरकारी र व्यवसायिक प्रतिष्ठानहरूमा तोडफोड, आगजनी र लुटपाट गर्दा खर्बौंको क्षति भएको छ। नेपालका उन्नति र प्रगतिका संरचनाहरूलाई यसरी नष्ट गर्नाले यो घटना अत्यन्त अकल्पनीय र दुःखद बनाएको छ।”
देउवाले भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनमा ज्यान गुमाएका युवा र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको परिवारसँग समवेदना व्यक्त गरेका छन्।
साथै, उनले विशेष परिस्थितिहरूमा पनि राजनीतिक जटिलताहरूको समाधान संविधानबाटै हुनुपर्ने बताउँदै भने, “सात दशकको नेपाली जनताको त्याग, तपस्या र बलिदानको परिणाम स्वरुप बनेको ऐतिहासिक संविधानबाट नै मुलुकका सबै जटिल समस्याहरूको समाधान, स्थिरता र प्रगति सुनिश्चित गर्न सकिन्छ।”
२३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा कुटपिटमा परेर गम्भीर घाइते भएका देउवा अहिले पनि अस्पतालमा उपचार भइरहेको छ। सुरक्षाको कारणले गर्दा उनले आफूलाई सार्वजनिक नगरेका छन्। उनले भनेको शुभकामना सन्देश भने सामाजिक सञ्जालमा प्रकाशित गरिएको छ।




