काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोलि आयोजना हुन लागेको पार्टीको युवा भेला ऐतिहासिक हुने दाबी गरेका छन्।
अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उनले आगामी भोलि (मंगलवार) भृकुटीमण्डपमा दिउँसो १२ बजे हुने युवा भेलामा सहभागी हुन सबैलाई आह्वान गरे।
उनले भने, “पार्टीले आयोजना गरेको युवा भेला हुँदैछ। भृकुटीमण्डपमा युवाहरूको ऐतिहासिक जमघट हुनेछ र त्यसबाट हामी उत्प्रेरित भएर अघि बढ्नेछौं। युवाहरूको जमघटले देशभर एक सकारात्मक सन्देश दिनेछ।”
पोखरेलले देश अहिले विकास र समृद्धिको यात्रामा छिर्ने मोडमा रहेको उल्लेख गर्दै त्यसका लागि युवा पुस्ताको सक्रियता अपरिहार्य भएको धारणा राखे।
उनले भने, “देश निर्माण गर्ने भावना युवाहरूमा जागृत गर्न अहिलेको पल निर्णायक हो। युवा पलायन बढिरहेको अवस्थामा युवाशक्तिलाई संगठित गर्दै राष्ट्र निर्माणतर्फ अघि बढ्नुपर्ने आवश्यकता छ।”
महासचिव पोखरेलले भोलिको भेला युवाहरूको राजनीतिक, सामाजिक र विकासको भूमिकाबारे प्रतिबद्धता प्रकट गर्ने अवसर बन्ने विश्वास व्यक्त गरे।