• बैसाख ८, २०८२ सोमबार
    21 Apr, 2025, Monday

    एमालेले ७ जनालाई ‘कम्युनिस्ट योद्धा’का रुपमा सम्मान गर्ने


    २०८२ बैसाख १, सोमबार
    एमालेले ७ जनालाई ‘कम्युनिस्ट योद्धा’का रुपमा सम्मान गर्ने

    २०८२ बैसाख १, सोमबार

    काठमाडौं: नेकपा (एमाले)ले पार्टी स्थापना दिवसमा कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने निर्णय गरेको छ ।

    सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी उपमहासचिव ज्ञवालीले बताउनु भयो । उहाँकाअनुसार वैशाख ९ गते पार्टी स्थापना दिवसमा सम्मानित हुनेहरुमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), बासस्वती देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी) र हरिचरण शिवाकोटी (झापा) रहनुभएको छ ।

    पार्टीले वैशाख ११ गतेलाई गणतन्त्रको उत्सवको रुपमा मनाउने गर्ने निर्णय गरेको छ । उहाँले निरङ्कुश राजतन्त्र फालेर गणतन्त्रको औपचारिक विजारोपण गरिएको दिन भएकोले त्यो दिनलाई सेलिब्रेसनका रुपमा भव्य कार्यक्रम आयोजना गर्ने ज्ञवालीले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘अगामि बैशाख ११ गते जनताले जितेको दिन निरङ्कुश राजतन्त्र फालेर गणतन्त्रको औपचारिक विजारोपण गरिएको दिन हो । त्यो दिनलाई हामी उत्सवको रुपमा मनाउने र आजको पुस्तालाई लोकतन्त्र र स्वतन्त्रताको महत्व बताउन, गणतन्त्रको महत्व बताउन सेलिब्रेसनको रुपमा काठमाडौंमा एउटा भव्य कार्यक्रम आयोजना गर्दैछौं । त्यसको बारेमा पनि हामीले सल्लाहहरु गरेका छौं ।’

    उहाँले बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला गतिविधिहरुबारे समेत समिक्षा भएको बताउनु भयो । शाहद्वारा आईतवार सार्वजनिक भिडियो सन्देशप्रति आपत्ति जनाउँदै उहाँले शाहमा अझै पनि प्राप्त उपलब्धि उल्ट्याउन सकिन्छ कि भन्ने सोच जीवितै रहेको निष्कर्ष निकालेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर