काठमाण्डौंः लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेशसभाको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।
सङ्घीय सरकारमा सत्ता समिकरण परिवर्तन भएसँगै नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री महराले राजीनामा दिँदै भनेका छन्- ‘केन्द्रीय राजनीतिको प्रभाव प्रदेशमा पर्नु दुःखद हो ।’
मुख्यमन्त्री महराको राजीनामासँगै एमाले र नेपाली काग्रेसले नयाँ सरकार गठनको तयारी सुरु गरेको एमालेका प्रमख सचेतक तुल्सीप्रसाद चौधरीले बताए । नयाँ सरकार बनाउन एमाले संसदीय दलका नेता लिला गिरीको नेतृत्वमा दावी पेश गर्ने तयारी रहेको उनको भनाइ छ ।
कूल ८७ प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा एमालेका २९ र काग्रेसका २७ प्रदेशसभा सदस्य रहेका छन् । सत्ता सहकार्यका लागि अन्य साना दललाई समेत प्रदेश सरकारकारमा समेट्ने तयारी रहेको प्रमुख सचेतक चौधरीले जानकारी दिए ।