• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    भन्सार कमिसन बालुवाटार पुग्ने गरेकाे भन्दै आजपा १९ दिन देखी धर्नामा


    २०८० पुष १९, बिहिबार

    २०८० पुष १९, बिहिबार

    काठमाडौं, १९ पुस । आम जनता पार्टीले शुरू गरेको भन्सार बिभागको घेराउ अझ सशक्त बनाउने भएको छ ।

    आम सम्पर्क मञ्चले भन्सारमा रहेको लुटकारी व्यवस्था खारेजीको माग गर्दै आन्दोलन गरेको आज १९ दिन पुगेको छ । झण्डै चार महिना देखि जारी आन्दोलनको न्यायोचित मागहरुलाई सम्बोधन गर्नुको सट्टा सरकार शान्तिपूर्ण धर्नामाथी हस्तक्षेप गरिरहेकोले आन्दोलनलाई सशक्त बनाउनुको विकल्प न रहेको आजपाका उपाध्यक्ष तिलक थपामगरले बताए ।

    ‘भन्सारको कमिशनको ठूलो रकम बालुवाटार त पुगेको छैन ?’ भन्ने थापामगरको प्रश्न छ । आफूहरुले भन्सारमा हुने लुटतन्त्रबारे ध्यानाकार्षण गराउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष यसअघि नै ज्ञापनपत्र बुझाएको उल्लेख गर्दै आज आन्दोलनको १९ औं दिन आई सक्दा पनि सरकारको जिम्मेवार निकायबाट कुनै प्रतिक्रिया नआउनुले यसमा सबै निकाय र माथिल्लो तहसम्म भन्सारको कमिशन पुग्ने गरेको निश्कर्ष निकालेको थापाको दाबी छ ।

    आम सम्पर्क मञ्चले भन्सारमा कमिशनबाट पुरस्कृत हुने कर्मचारी र पुरस्कारको राशि सार्वजनिक गर्न माग गरेको छ । भन्सार घेराउको क्रममा आन्दोलनकारीहरुले “भन्सारमा ४५ प्रतिशत रकमले पुरस्कृत हुने कर्मचारीको नाम सार्वजनिक गर्न र भन्सार छली नियन्त्रणको नाममा प्रहरीद्वारा भईरहेको छिनछोर बन्द गर्न” माग गर्दै आएका छ्न ।

    देशको आर्थिक संकट सुधारको लागि राजस्व चुहावट रोक्न जरुरी रहेको आजपाको भनाई छ ।  ‘यसरी पुरस्कारको नाममा भन्सारबाट उठेको रकम झण्डै ५० प्रतिशत सिधै मन्त्री एवं उच्चपदस्थ कर्मचारीको खातामा जानु कुनै हिसाबले सही होइन,’ थापाले भने, ‘भन्सारमा भईरहेको भ्रष्टाचारजन्य कार्य रोक्न र सिमा क्षेत्रको जनताको मनोबल उठाउन गरिएको आन्दोलन झण्डै ४ महिना पुगिसक्दा समेत सरकारले कुनै सुनुवाई नगर्नु दुःखद् हो । यस जनपक्षीय कार्यमा सबैको सहयोगको लागि विशेष अनुरोध गर्दछु ।’  आम सम्पर्क मञ्चले भन्सारको कमिसन लुटकारी व्यवस्था भएकाे भन्दै त्यस बिरुद लामो समय देखी आन्दोलन गर्दै आएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर