• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    पशुपतिमा अतिक्रमित टहरा हटाउन मन्त्री आलेको निर्देशन


    २०७८ माघ १६, आइतबार

    २०७८ माघ १६, आइतबार

    काठमाण्डौः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू हटाउन निर्देशन दिएका छन्।

    आइतबार पशुपतिनाथ क्षेत्रको निरीक्षण तथा अनुगमन गर्न गएका आलेले त्यस क्षेत्रमा सरकारी जमिन अतिक्रमण गरी निर्माण गरिएका टहराहरू १५ दिनभित्र हटाउन निर्देशन दिएका हुन्।

    “गुहेश्वरीमा थुप्रै टहराहरू बनाएर ठाउँ कब्जा गर्ने र अतिक्रमण गर्ने काम भएको छ। त्यसरी सरकारी जमिन कब्जा र अतिक्रमण गरी टहरा बनाउनु नहुने” मन्त्री आलेले बताएका छन् ।

    त्यस्तै पशुपति क्षेत्र विकास कोषको हाताभित्र थुप्रै विकृति भएका र विगतमा त्यहाँका पदाधीकारीहरूले मनपरी ढङ्गबाट काम गरेका तथा विकास कोषमा कुनै पनि मासिक भाडा नआउने गरी निःशुल्क रूपमा गाईपालनका लागि जमिन दिएको पाइएकाले ती विकृतिको पनिअन्त्य गर्ने मन्त्री आलेले बताएका छन्।

    ‘पशुपति क्षेत्र विकास कोषबाट अनुमोदन नै नगरी कतिपय ठाउँ र जमिन भाडामा दिइएको देखियो, यस्ता विकृति अन्त्य हुन्छ’, मन्त्री आलेले भनेका छन्, ‘पशुपति क्षेत्र विकास कोषको हाताभित्र रहेका क्रियापुत्री बस्ने ठाउँलाई व्यवस्थित गर्नका लागि पहल भइरहेको समेत मन्त्री आलेले अनुगमनका क्रममा जानकारी दिए।

    क्रियापुत्री बस्ने ठाउँमा तातो, चिसो पानीको व्यवस्थापन हुने मन्त्री आलेले दाबी गर्नुभयो। यसैगरी मन्त्री आलेले गोठाटारमा रहेको जग्गा पनि अतिक्रमण भएकाले त्यो पनि १५ दिनभित्र हटाइने जानकारी दिनुभयो।

    पशुपति मन्दिर क्षेत्रमा जम्मा हुने फोहोरहरू व्यवस्थापनका लागि काम अगाडि बढाउनसमेत मन्त्री आलेले कोषका पदाधिकारीहरूलाई निर्देशन दिनुभएको छ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर