काठमाडौं, कात्तिक ११ गते । प्रधानमन्त्री सुशीला कार्कीसँग ‘जेनजी युनाइडेट फर परिवर्तन’ का प्रतिनिधिहरूले मंगलबार सिंहदरबारमा भेटवार्ता गरेका छन्।
९ सदस्यीय प्रतिनिधि समूहले प्रधानमन्त्री कार्कीलाई भेट्दै संगठनका माग र उद्देश्यबारे जानकारी गराएको हो।
प्रतिनिधि सदिक्षा राईका अनुसार समूहले प्रधानमन्त्रीलाई अपिल पत्र बुझाउँदै जेनजीहरूलाई एकताबद्ध राख्न सरकारको पहल र सहयोग आवश्यक रहेको माग गरेका छन्।
राईले भनिन्, “हामीलाई केवल एकताको कुरा होइन, सरकारको सर्पोट पनि चाहिन्छ। जेनजी विद्रोहबाट बनेको सरकारले नै अब अभिभावकत्व लिनुपर्छ।”
छलफलमा जेनजी आन्दोलनका घाइते र शहीद परिवारका सदस्यहरू पनि सहभागी थिए। उनीहरूले जेनजीहरूबीच एकता कायम गर्न सरकारले ठोस भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।




