• कार्तिक १२, २०८२ बुधबार
    29 Oct, 2025, Wednesday

    सिंहलाई ‘वैद्य-प्रकाश मानवअधिकार पुरस्कार’


    २०८२ श्रावण १४, बुधबार
    सिंहलाई ‘वैद्य-प्रकाश मानवअधिकार पुरस्कार’

    २०८२ श्रावण १४, बुधबार

    सप्तरी, १४ साउनः मानवअधिकार र प्रजातान्तिक आन्दोलनका साथै कानुन व्यवसाय क्षेत्रमा निरन्तर क्रियाशील रही योगदान पुर्‍याउनुभएका सप्तरीको राजविराज नगरपालिका-४ का ८४ वर्षीय हिम्मत सिंहलाई ‘वैद्य-प्रकाश मानवअधिकार पुरस्कार’बाट सम्मानित गर्ने निर्णय गरिएको छ ।

    वैद्य-प्रकाश मानवअधिकार पुरस्कार कोषको राजविराजमा आज सम्पन्न बैठकले यस वर्षका लागि वरिष्ठ अधिवक्ता सिंहलाई सम्मानित गर्ने निर्णय गरिएको कोषका संस्थापक अध्यक्ष वैद्यनाथ झाले जानकारी दिनुभयो । राजनीतिबाट सार्वजनिक जीवन सुरु गर्नुभएका सिंह मानवअधिकार, प्रजातान्त्रिक र सङ्घीय लोकतान्त्रिक आन्दोलनमा सक्रिय रही साढे पाँच दशकदेखि हालसम्म कानुन व्यवसाय क्षेत्रमा निरन्तर कटिबद्ध र क्रियाशील हुनुहुन्छ ।

    सामाजिक सरोकारका विषयमा चिन्तन गर्नुहुने उहाँ जिल्लाको कानुनी, राजनीतिक हतिहास र अभ्यासमा गहिरो संलग्नता राख्नुहुन्छ । साथै सामाजिक न्याय र सार्वजनिक चासोका मुद्दामा सक्रिय हुनुहुन्छ । सप्तरीको सामाजिक, राजनैतिक परिवेश र मनोविज्ञानसम्बन्धी विश्लेषणमा पोख्त उहाँले जनताको विश्वास जितेर प्रजातान्त्रिक व्यवस्था, संविधानको दीघार्यु र कानुनी संरचना सुदृढीकरण गर्नुपर्ने प्रष्ट विचार राख्दै आउनुभएको छ । कमजोर, पीडित वर्गका पक्षमा कानुनी सेवा प्रदान, न्याय प्रणालीमा सुधार र पारदर्शिताका पक्षधर सिंह युवा कानुन व्यवसायीका लागि मार्गदर्शक हुनुहुन्छ ।

    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-५ मा जन्मनु भई राजविराज नगरपालिका-४ मा स्थायी बसोबास गर्दै आउनुभएका सिंहले सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित ब्रह्मपुरमा पब्लिक रामेश्वर उच्च माध्यमिक विद्यालय र तिलाठी कोइलाडी गाउँपालिका-५ स्थित बर्साइनमा आधारभूत विद्यालय स्थापना गर्नुभएको छ । उहाँ नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य र जेपी लोहिया रामेश्वर मेमोरियल ट्रष्टका संस्थापक हुनुहुन्छ । सिंहले विसं २०७६ मा एमनेस्टी इन्टरनेसनल सप्तरीको अध्यक्षको भूमिका कुशलतापूर्वक निर्वाह गर्नुभएको छ ।

    निर्वाचित संसद् र मन्त्रिमण्डल विघटन भई विसं २०१७ मा पञ्चायती व्यवस्था सुरु भएपछि प्रवासित सिंहले भारतबाट प्रकाशित पत्रिकाहरूमार्फत लेख प्रकाशन गर्नुहुन्थ्यो । विसं २०२६ मा आममाफीपश्चात् नेपाल प्रवेश गरी वकालत प्रारम्भ गर्नुभएका उहाँले २०४२ सालमा वरिष्ठ अधिवक्ताको उपाधि पाउनुभएको हो । जलेश्वर, वीरगञ्जमा सुरक्षामा प्रहरी हिरासतमा पर्नुभएका उहाँ २०४६ सालको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइतेसमेत हुनुभएको थियो ।

    वरिष्ठ अधिवक्ता सिंहलाई इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा शुक्रबार हुने कार्यक्रममा राजविराजस्थित नेपाल पत्रकार महासङ्घको भवनमा सम्मान गरिने आयोजकले जनाएको छ । नुवाकोटको घोप्टेभिरमा विसं २०४९ साउन १६ गते भएको थाइ विमान दुर्घटनामा अधिकारकर्मी प्रकाश काफ्लेको निधन भएको थियो ।

    मानवअधिकार, सामाजिक र न्याय क्षेत्रका स्थापित व्यक्तिहरुको उपस्थितिमा हुने कार्यक्रममा इन्सेकका पूर्वअध्यक्ष सुबोधराज प्याकुरेल र उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश वामदेव ज्ञवालीले सम्मानपत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा २१औँ प्रकाश मानवअधिकार पुरस्कारबाट सम्मानित राजविराज नगरपालिका-७ का वैद्यनाथ झाले प्राप्त गर्नुभएको नगद रु ५१ हजारबाट स्थापना गरिएको कोषमा झाकी आमा चन्द्रादेवी झाले ज्येष्ठ नागरिकका हैसियतले पाउनुभएको सामाजिक सुरक्षाबापतको रु ५० हजार र अन्य रु ३० हजार जम्मा गर्नुभएको छ ।

    यसैगरी राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहीर ठाकुरले रु २५ हजार, झाका भतिजा इञ्जिनियर सञ्जयकुमार झाले रु १५ हजार, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली र मञ्जु शारदाले रु पाँच÷पाँच हजार प्रदान गर्नु भई कोषको रकम रु एक लाख ७५ हजार पुगेको छ । उक्त कोषमा झाले पुरस्कारस्वरुप प्राप्त गर्नुभएको अन्य रकमसमेत जम्मा गर्दै आउनुभएको छ ।

    यो पुरस्कार २०७३ सालदेखि प्रत्येक वर्ष मानवअधिकार तथा नागारिक आन्दोलनका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रदान गरिँदै आइएको कोषले जनाएको छ । सम्मानित व्यक्तित्वलाई सम्मानपत्र तथा दोसल्ला प्रदान गरिनुका साथै पुरस्कारको राशि बर्सेनि बढाउँदै लगिएको कोषका सचिव मनोहरकुमार पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो पटक रु तीन हजार १०५ पुरस्कार प्रदान गरिएकामा कोषको राशि वृद्धि भएसँगै यो वर्ष पुनः वृद्धि गरी पुरस्कारको राशि रु ११ हजार बनाइएको छ ।

    यो पुरस्कारबाट २०७३ सालमा चमार आन्दोलन र भूमि अधिकार अभियन्ता सुरुङ्गा नगरपालिका-४ मधुपट्टी कनकपुरका बलदेव राम, २०७४ सालमा दलितमा सबैभन्दा पछाडि पारिएको डोम जातिको आन्दोलनको अभिन्न अङ्गका रूपमा स्थापित छिन्नमस्ता गाउँपालिका-२ का युक्तिलाल मरिक सम्मानित हुनुभएको थियो । साथै गत वर्ष सीमान्तकृत दलित, गरिबको चेतना विकास र अधिकारको संरक्षणमा योगदान गर्नुहुने रुपनी गाउँपालिका-६ तेरहौताका दिलिपकुमार चौधरीलाई सम्मानित गरिएको थियो ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर