गोदावरी (कैलाली), १४ वैशाखः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सरकारले सन् २०३० भित्र सबै बालबालिकाका लागि स्वस्थ, सुरक्षित र समुन्नत जीवनको आधार तयार गर्ने लक्ष्य लिएको बताउनुभएको छ ।
आज धनगढीमा आयोजना गरिएको राष्ट्रिय बालबालिका नीति, २०८० को कार्यान्वयन कार्ययोजना मस्यौदामा राय सुझावसम्बन्धी प्रदेशस्तरीय छलफलमा उहाँले सबै बालबालिकाको भविष्य सुनिश्चितताका लागि नीति लागू गर्न सरकारले तयारी अघि बढाएको बताउनुभयो ।
नेपालको संविधान, बालबालिकासम्बन्धी ऐन २०७५, नियमावली २०७८, सोह्रौँ योजनाका साथै बालअधिकारसम्बन्धी अन्तरराष्ट्रिय महासन्धिहरूले निर्धारण गरेका मापदण्ड र मार्गनिर्देशनहरूलाई व्यवहारमा उतार्न कार्ययोजना तयार गरिएको मन्त्री सुडीको भनाइ थियो । उहाँले नीति लागू भएपछि बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा, खेलकुद, संरक्षण, सहभागिता र सर्वाङ्गीण विकासमा समान र समावेशी पहुँच सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सरकारले बालबालिकासम्बन्धी सबै कानुनी र नीतिगत प्रतिबद्धताहरूको कार्यान्वयनमा जोड दिएको बताउँदै मन्त्री सुडीले विशेषगरी शारीरिक, मानसिक हिंसा, शोषण, विभेद र उपेक्षाबाट मुक्त समाज निर्माण गर्ने लक्ष्य लिएको बताउनुभयो । प्रारम्भिक बालविकास, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत सम्पूर्ण व्यक्तित्व विकासका पक्षलाई समेटेर कार्ययोजना अघि सारिएको उहाँको भनाइ छ ।