• कार्तिक २९, २०८१ बिहिबार
    14 Nov, 2024, Thursday

    सडकमा दशैँमा टीका लगाउनेहरुको चहलपहल बढ्यो


    २०८१ असोज २६, शनिबार

    २०८१ असोज २६, शनिबार

    काठमाडौंः  नेपालीहरुको महान चाड विजया दशमी मनाउन आफन्तहरुकोमा जाने क्रमसँगै काठमाडौंका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ । आज दशैँको मुख्य दिन घरमा मान्यजनको हातबाट टिका एवं नवदुर्गाको प्रसाद ग्रहण गरी आफन्तकोमा टिका लगाउन जाने क्रम शुरु भएको हो ।

    काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा साईतको टीका घरमा लगाइसकेपछि आफन्तहरुकोमा जाने क्रमसँगै सडकमा सर्वसाधारणहरु सवारीसाधन कुरेर बसिरहेको देख्न सकिन्छ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दशैँ घर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ ।

    आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने गरिन्छ । त्रेता युगमा आजकै दिन भगवान रामले असत्यको प्रतिक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।

    आज असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकका रूपमा मनाइने विजयादशमी (बडा दशैँ) को सबैभन्दा महत्वपूर्ण दिन हो । यसैले आजको दिनलाई विजयको प्रतिकका रुपमा पनि लिइन्छ । आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि एवं दीर्घायु प्राप्त होस् भनेर आशिर्वाद लिइन्छ ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर