• जेठ ८, २०८१ मंगलबार
    21 May, 2024, Tuesday

    अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली


    २०८१ वैशाख १८, मंगलबार

    २०८१ वैशाख १८, मंगलबार

    काठमाण्डौः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुहाङ नेम्बाङले सांसदमा विजय हासिल गरेसँगै इलामले थप समृद्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित भएपछि आज इलाम चोकबजारमा आयोजित विजय सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । “तपाईंहरुले युवा नेता सुहाङलाई जिताएर पठाउनुभयो, यसका लागि इलामको जनतालाई धन्यवाद दिन चाहन्छु ”, अध्यक्ष ओलीले भन्नुभयो, “ अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु ।”

    अध्यक्ष ओलीले देशलाई आर्थिकरुपमा समृद्ध बनाउने कार्ययोजना एमालेसँग मात्र भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुकलाई आर्थिकरुपमा बलियो र समृद्ध बनाउने कार्ययोजना एमालेसँग मात्र छ, अहिलेसम्मको सबै कामको नेतृत्व एमालेले नै गरेको छ ।”

    अध्यक्ष ओलीले सुवास नेम्बाङले थाल्नुभएको विकासको अभियानलाई पूर्णता दिनका लागि सुहाङ उपयुक्त पात्र रहेको उल्लेख गर्नुभयो । उहाँले सुवास जनताको लागि लड्ने योद्धा भएको स्मरण गर्दै उनका छोरा सुहाङ पनि योद्धा नै भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “सुवास त संविधानको निर्माता, एउटा सांसद, जनताका लागि लड्ने योद्ध हुनुहुन्थ्यो, योद्धाको छोरा पनि योद्धा नै हुन्छ ।”

    ओलीले आफ्ना उम्मेद्वार जिताउन सहयोग गरेको जनाउँदै नेकपा (माओवादी केन्द्र) समेत धन्यवाद दिनुभयो । कार्यक्रममा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङले इलामे जनताको लागि इमान र निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता जनाउनुभयो । “म मेरो बाबुको अपूरो र अधुरो सपना पूरा गर्न राजनीतिमा आएको हुँ, इमान र निष्ठाका साथ जनताको काम गर्नेछु”, उहाँले भन्नुभयो, “०८४ को निर्वाचनमा एमालेले जनताको घरघरमा भोट माग्नै नपर्ने गरी काम गरेर देखाउनेछु, इलामे जनता र मतदाताको शिर झुक्ने काम कहिले गर्ने छैन ।”

    कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं इलाम इञ्चार्ज धीरेन्द्र शर्मा र नेकपाका केन्द्रीय सदस्य एवं इलाम इञ्चार्ज सुमन सीले बामपन्थी गठबन्धनलाई जनताले अनुमोदन गरेको जनाउँदै धन्यावाद ज्ञापन गर्नुभयो । सुहाङले कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई पाँच हजार आठ सय ३० मतको फराकिलो अन्तरले पराजित गर्नुभएको थियो । सुहाङले २७ हजार सात सय ७२ मत पाउँदा निकटतम प्रतिस्पर्धी खड्काले २१ हजार नौ सय ४२ मत प्राप्त गर्नुभएको थियो ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर