काठमाण्डौंः सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाले धार्मिक सहिष्णुताका साथ मुलुकमा शान्ति कायम गर्न सबै पक्षको योगदान आवश्यक रहेको बताउनुभएको छ ।
अन्तर धार्मिक सद्भाव समन्वय सङ्घ नेपाल रुपन्देहीले आज धनगढीमा आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले धार्मिक र जातीय द्वन्द्व जस्ता गतिविधि हुन नदिन र सबै जातजाति, धर्मका मानिस बस्न र खेल्न पाउने वातावरण बनाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कुनै पनि धर्ममाथि कसैले हस्तक्षेप गर्न नमिल्ने उहाँले बताउनुभयो । प्रदेश प्रमुख मियाले सुदूरपश्चिम धार्मिक रूपमा शान्त भएको बताउँदै सधैँ शान्त राख्न सजग भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
सङ्घका उपाध्यक्ष चन्दा थापाले प्रदेश प्रमुख मियाको नेतृत्वमा रुपन्देहीमा केही महिना अघि सो संस्था गठन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सो संस्थामा नेपालमा रहेका सबै धर्मका अगुवा सम्मिलित छन् । सो संस्था देशभर धार्मिक द्वन्द्व हुन नदिने गरी काम गर्न स्थापना भएको उपाध्यक्ष थापाले बताउनुभयो ।
धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले मियाँको अध्यक्षतामा रुपन्देहीमा अन्तर धार्मिक सद्भाव सङ्घ गठन गरिएको थियो । सङ्घका केन्द्रीय अध्यक्ष प्रदेश प्रमुख नियुक्त भएपछि सम्मान गर्न रुपन्देहीको टोली कैलालीको धनगढी पुगेको हो ।
सम्मान कार्यक्रममा रुपन्देहीका शोभाकर पौडेल, सुरेश थापा लगायतले प्रदेश प्रमुख मियाको नियुक्तिका लागि बधाई र कार्यकालको सफलताको शुभकामना दिनुभयो ।