• वैशाख १५, २०८१ शनिबार
    27 Apr, 2024, Saturday

    ‘नेकपा’ ब्युँताउन थालिएको हो ?


    २०८० चैत्र ५, सोमबार

    २०८० चैत्र ५, सोमबार

    काठमाण्डौः नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीबीच एकीकरण हुनुपर्ने जनाएका छन् ।

    पछिल्लो समय प्रमुख कम्युनिस्ट पार्टीहरूको समेत सहभागितामा बनेको नयाँ सत्तारूढ गठबन्धनबाट समेत उनी उत्साही छन् ।वामपन्थी दल विभाजित भए कम्युनिस्ट आन्दोलनको उपलब्धि जोगाउन नसकिने बताउँदै उनले वामपन्थी शक्ति मिल्नुको विकल्प नभएको बताएका छन् । काठमाडौंमा गत साता आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीबीच एकीकरण हुनुपर्नेमा जोड दिए ।

    नेपाली कांग्रेससहितको पुरानो गठबन्धन भत्किँदै नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), एकीकृत समाजवादीसहितको नयाँ गठबन्धन बनेपछि अरू नेतासमेत वामपन्थी शक्तिबीच एकीकरणका लागि सकारात्मक छन् । कतिपय नेताहरूले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ ब्युँताउनुपर्ने धारणासमेत राख्न थालेका छन् ।

    पछिल्लो समय प्रमुख राजनीतिक शत्रुका रूपमा एकअर्काविरुद्ध उत्रिँदै आएका एमाले र एकीकृत समाजवादीबीचको सम्बन्ध सुधारोन्मुख देखिएको छ । नयाँ गठबन्धन निर्माणसँगै पानी बाराबारको स्थितिमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीचको सम्बन्ध पछिल्लो समयमा सुधारोन्मुख बनेको हो ।

    साढे दुई वर्षअघि एमालेबाटै विद्रोह गरेर नेपालले एकीकृत समाजवादी बनाएपछि ओली र नेपाल एकअर्काविरुद्ध तीखो प्रहारमा उत्रिएका थिए । कथम्कदाचित उनीहरू एउटै मञ्चमा भेटिँदासमेत एकअर्कालाई उपेक्षा गर्थे । एकअर्काको आलोचना गर्नमा पछि नहट्ने ओली र नेपाल अहिले सम्बन्ध सुधार गर्दै वामपन्थी शक्तिबीच एकता गर्ने पक्षमा उभिएको उनीनिकट नेता बताउँछन् ।

    सोही कारण एकीकृत समाजवादीले वामपन्थी शक्तिबीच एकतालाई प्राथमिकता दिएको छ । पार्टीको १०औं महाधिवेशनका लागि तयार गर्न लागेको दस्तावेजमा वामपन्थी शक्तिबीच एकता गर्ने विषयलाई महŒव दिइएको छ । एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले वामपन्थी दलसँगको कार्यगत एकतालाई प्राथमिकतामा राखेर दस्तावेज परिमार्जन गर्न लागेको पार्टीले वाम ध्रुवीकरणबाट विकास भएको नयाँ समीकरणलाई सहज र सकारात्मक प्रभाव पार्ने विषयवस्तुलाई दस्तावेजमा समावेश गरिने बताए ।

    आगामी ३ देखि ७ जेठसम्म काठमाडौंमा हुने १०औं राष्ट्रिय महाधिवेशनका लागि निर्माणाधीन दस्तावेजलाई थप अध्ययन गर्ने समय निर्धारण गरेको समितिमा समान विचार तथा दृष्टिकोण भएका कम्युनिस्ट शक्तिसँग एकताका लागि अपुग भएका केही वस्तु थप्ने समझदारी भएको छ । ६ चैतमा बस्ने दस्तावेज मस्यौदा लेखन समितिको बैठकमा समाजवादी कार्यदिशा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक प्रभावको वस्तुगत विश्लेषण गरिने प्रवक्ता खतिवडाले बताए । उनका अनुसार राजनीतिक, समाजवादी कार्यक्रम, सांगठनिक र विधान प्रतिवदेनमाथि सूक्ष्म छलफल गरी दस्तावेज मस्यौदा लेखनलाई पूर्णता दिइनेछ ।

    पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तर्राष्ट्रिय घटनाक्रमबारे समेत दस्तावेजमा उल्लेख गरिएको खतिवडाले बताए । पार्टी अध्यक्ष नेपाल राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले समाजवादी कार्यक्रम, उपाध्यक्ष डा. बेदुराम भुसालले पार्टी विधान र महासचिव घनश्याम भुसालले संगठनात्मक प्रस्ताव तयारीका लागि नेताहरूसँग छलफल तथा परामर्श गरेका छन् । सबै पक्षलाई समेटेर तयार गरिने प्रतिवेदन एकीकृत गरेर महाधिवेशनमा एउटै दस्तावेज लैजाने पार्टीले जनाएको छ ।

    यसैबीच, एकीकृत समाजवादीले आइतबार अन्तरपार्टी निर्देशन (अपानी)–१३ जारी गरेको छ । जारी अपानि निर्देशनमा सरकार गठनपछिको परिस्थिति’bout ब्रिफिङ गरिएको छ ।

    ‘एकातिर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विश्वासको मत नपाएको अवस्थामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको सरकार बन्ने र त्यसबाट पनि राजनीतिक स्थिरताको प्रत्याभूति नहुने, अर्कोतिर हाम्रो अस्तित्वलाई स्वीकार नगरेको नेकपा एमालेसमेतको नयाँ समीकरणले हामीलाई सरकारमा सहभागी हुन आग्रह गरेको र सरकार सञ्चालनका नीति तथा कार्यक्रममा हाम्रो पार्टीलाई समान रूपले सहभागी गराउने प्रतिबद्धता व्यक्त गरेपछि पार्टी सचिवालयले त्यसप्रति सकारात्मक हुँदै वार्ता गर्ने निर्णय ग¥यो,’ अपानिमा उल्लेख गरिएको छ ।

    वार्ताक्रममा आफूहरूले उठाएका राष्ट्रिय महत्वका विषयमा छलफल गर्दा प्रधानमन्त्रीले सहमति जनाएपछि पार्टीले सरकारमा दुई जना मन्त्री पठाएको अपानिमा उल्लेख छ । २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले एमालेलगायतका दलहरूसँग नयाँ सत्ता समीकरण बनाउँदा एकीकृत समाजवादी बाहिरै थियो । त्यतिबेला एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा मात्रै नयाँ गठबन्धनमा जोडिएका थिए । तर, पछि एकीकृत समाजवादी पनि जोडिएको हो । राजधानी

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर