• वैशाख १५, २०८१ शनिबार
    27 Apr, 2024, Saturday

    सुदूरपश्चिम महोत्सवको तयारी पूरा, प्रधानमन्त्री प्रचण्डले भोली उद्घाटन गर्ने


    २०८० मंसिर २१, बिहिबार

    २०८० मंसिर २१, बिहिबार

    काठमाण्डौंः कैलालीको धनगढीमा भोली देखि शुरु हुने सुदूरपश्चिम महोत्सव २०८० को तयारी पूरा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले महोत्सवको उद्घाटन गर्नु हुने कार्यक्रम रहेको छ ।

    आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताउनु भयो । महोत्सवको उद्घाटन प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्नु हुने निश्चित भएको उहाँले बताउनु भयो । प्रधानमन्त्रीले भोली मङ्सिर २२ गते मध्यान्ह साढे १२ बजे धनगढी उपमहानगरपालिका १ पशुपतिटोलमा महोत्सवको उद्घाटन गर्नु हुने तय भएको अध्यक्ष कुँवरले बताउनुभयो । महोत्सवको उद्घाटन समारोहमा प्रधानमन्त्री, सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीगण, सरकारी अधिकारी लगायतको सहभागिता रहने उहाँले बताउनुभयो ।

    महोत्सवको सुरक्षा व्यवस्थाका लागि महोत्सव स्थलमा सिसिटिभी सहित सुरक्षाकर्मी परिचालनको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । समृद्ध सुदूरपश्चिमको लागि आर्थिक समृद्धि भन्ने नारा रहेको सुदूरपश्चिम महोत्सवको यो १७औ संस्करण रहेको छ । मङ्सिर २२ गते देखि शुरु हुने महोत्सव पुस २ गते सम्म सञ्चालन हुने छ । महोत्सव सञ्चालनका लागि करिब २ करोड खर्च हुने अनुमान गरेको सङ्घले महोत्सव अवधिमा करिब १० करोड बराबरको कारोबार हुने जनाएको छ ।

    सुदूरपश्चिम प्रदेशको उद्योग, व्यापार, कृषि, पर्यटन, कला, संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यका साथ २०६३ साल देखि धनगढीमा महोत्सव आयोजना भइरहेको छ ।  स्थानीय खानपान, कृषि उपज, ब्यापार व्यवसाय, अटो मोवाईल्स,  होटेल, सूचना प्रविधि लगायत गरि ४ सय स्टल रहेको महोत्सवमा कृषि प्रदर्शनी, कलाकारको प्रस्तुती, रमाइलो मेला, खानपानका परिकार, थारु गाउँ लगायत मुख्य आकर्षण रहने छन् । महोत्सवको करिब ५ लाखले अवलोकन गर्ने अनुमान गरिएको छ ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर