• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    ट्राफिक प्रहरीले ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’ मनाउने


    २०८० असोज १३, शनिबार

    २०८० असोज १३, शनिबार

    काठमाडौंः सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक प्रहरीले “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह- २०८० मनाउँदै छ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिकाको संयुक्त आयोजनामा मातहतका ट्राफिक प्रहरी कार्यालयहरूको अगुवाइ तथा स्थानीय तह, स्थानीय प्रहरी, विभिन्न संघसंस्थासँगको समन्वय तथा सहकार्यमा साताव्यापी रुपमा विविध ट्राफिक चेतनामूलक कार्यक्रम गरी ट्राफिक सप्ताह मनाउन लागिएको हो ।

    उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा भोलि काठमाडौँको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रम गरेर ट्राफिक सप्ताहको सुरु हुने कार्यालयले जनाएको छ।

    कार्यक्रममा चालक, परिचालक, पैदलयात्री,विद्यार्थी र समग्रमा सडक प्रयोगकर्ता लक्षित ट्राफिक चेतनामूलक कार्यक्रमहरू रहेको र साताव्यापी सञ्चालन हुने यस कार्यक्रमले दुर्घटना न्यूनीकरण गर्न, सडक अनुशासन कायम राख्न र सडक प्रयोगकर्तालाई जिम्मेवारी बोध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

    काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाको विश्लेषण गर्दा अधिकांश सवारी दुर्घटना तीव्र गति, ट्राफिक संकेत वा इशाराको उल्लङ्घन, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने जस्ता चालकको लापरबाहीका कारण हुने गरेको पाइएको छ ।

    यस्तै सडकको अवस्था, सवारी साधनको खराब अवस्था र सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक  नियमको पर्याप्त ज्ञानको अभाव पनि सवारी दुर्घटनाका कारण बनेकाले सडक सुरक्षा  तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक सप्ताहको आयोजना गरिएको पनि प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए ।

    भोलि पहिलो दिन बिहान बाजागाजा सहित प्रभातफेरी र औपचारिक उद्घाटनको कार्यक्रम रहने छ ।

    त्यसपछि साताभर हुने जनचेतनामूलक कार्यक्रममा विद्यालय सम्पर्क कार्यक्रम, चालक र परिचालकलाई ट्राफिक ज्ञानको अभिवृद्धि गर्नुका साथै उनीहरूको स्वास्थ्य परीक्षण, विद्यार्थी तथा  स्काउट लगायत  सवारी चालक र परि(चालकलाई पनि स्वयंसेवकको रुपमा परिचालन गर्ने, जनचेतनामूलक स्टिकर तथा पर्चा पम्पलेट वितरण गर्ने कार्यक्रम रहेको छ ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर