• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    नेपाल प्रहरीका पाँच एआईजीको सरुवा : उपत्यकाको कमान्ड एआईजी दीपक थापालाई


    २०८० भाद्र २, शनिबार

    २०८० भाद्र २, शनिबार

    काठमाडौंः सरकारले नेपाल प्रहरीका पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको छ । उच्च स्रोतका अनुसार गत मंगलबारको मन्त्रीपरिषद बैठकको माइन्युटमा नेपाल प्रहरीका पाँच एआईजीहरुको सरुवाको समेत निर्णय भएको बुझिएको छ ।

    उक्त निर्णय अनुसार काठमाडौं उपत्यकाको कमान्ड एआईजी दीपक थापालाई दिईएको छ । नेपाल प्रहरीमा व्यावसायिक प्रहरी अधिकृतको परिचय बनाएका एआईजी थापा डीएसपी हुँदा काठमाडौं उपत्यकाकै प्रहरी बृत महाराजगन्ज र एसएसपी हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको नेतृत्व सम्हालिसकेका छन् ।

    यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख रहेका बिबादास्पद पृष्ठभुमिका एआईजी श्यामलाल ज्ञवालीको प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा भएको छ । क्यासिनो र हुण्डी कारोबारीसंग आर्थिक लाभ लिएको, भुटानी शरणार्थी काण्डमा विभिन्न शक्तिकेन्द्रसंग बार्गेनिङ गरेको आरोप लागेका ज्ञवालीको थप बदमासी रोक्नकै लागि सरकारले अकस्मात् एआईजीहरुको सरुवा गरेको हो । एआईजी ज्ञवालीले काठमाडौं उपत्यकाको कमाण्ड सम्हालेको करिब साढे ४ महिना मात्र भएको थियो।

    बिबादास्पद एआईजी ज्ञवाली प्रधानमन्त्री निकट केही ब्यक्तिहरुको विशेष चाहनामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राईलाई हटाएर जान खोजेका थिए। तर सरकारले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा मानवस्रोत विभागका एआईजी सन्दीप भण्डारीलाई पठाएर एआईजी टेक प्रसाद राईलाइ मानवस्रोत बिकास विभागमा सरुवा गरेको छ । त्यस्तै कार्य विभागमा कार्यरत एआईजी मिरा चौधरीलाई प्रशासन बिभाग प्रमुखको जिम्मेवारीमा सरुवा गरिएको छ ।

    एआईजी सरुवासंगै सरकारले प्रदेश प्रमुख रहेका चार डीआईजी र केही एसएसपीहरुको हरुको सरुवा गर्ने तयारी थालेको छ । उच्च स्रोतका अनुसार कार्यसम्पादनमा कमजोर देखिएका मधेस, बागमती र लुम्बिनी प्रदेशका प्रमुख रहेका डीआईजीहरुको सरुवाको तयारी थालिएको छ । मधेस, बागमती र लुम्बिनी प्रदेशको लागि डीआईजीहरु कुबेर कडायत, बिष्णुकुमार केसी, चन्द्रकुबेर खापुङ, बिकासराज खनाल र सुरेन्द्र मैनालीबिच प्रतिस्पर्धा देखिएको छ । गृहमन्त्रालयले गण्डकी प्रदेशका डीआईजी बुद्धिराज गुरुङको कार्यकाल पुरा भई सकेकोले उनको ठाउँमा डीआईजी बिकासराज खनाललाई पठाउन चाहेको बुझिएको छ ।

    मन्त्रालयले काठमाडौं प्रहरीको कमान्ड पनि परिवर्तन गर्ने तयारी गरेको बुझिएको छ । उच्च स्रोतका अनुसार रवि लामिछाने गृहमन्त्री हुँदा उनैको मुद्दा मिलाउने शर्तमा काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी पाएका एसएसपी दानबहादुर कार्कीलाई हटाएर एसएसपी भुपेन्द्र बहादुर खत्रीलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिने तयारी गरिएको छ । त्यस्तै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको प्रमुखमा एसएसपी सोमेन्द्र सिंह राठौर र ललितपुर प्रहरी प्रमुखमा एसएसपी दिनेशकुमार आचार्यको सरुवा हुने बुझिएको छ । एसएसपीत्रय आचार्य, खत्री र राठौर नेपाल प्रहरीमा ब्यबसायिक प्रहरी अधिकृतको रुपमा परिचित छन् ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर