• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको प्रतिशोधमा सांसद शर्मालाई पक्राउ गरिएको सचिवालयको दाबी (विज्ञप्ती सहित)


    २०८० श्रावण २५, बिहिबार

    २०८० श्रावण २५, बिहिबार

    काठमाडौंः सुन तस्करीको विषयमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका कारण त्यसको प्रतिशोधमा सांसद डा.सुनिल शर्मालाई पक्राउ गरिएको भन्दै शर्माको सचिवालयले आपत्ति जनाएको छ । डा.सुनिल शर्माको सचिवालयले आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रतिशोध साध्ने हिसाबले राज्यसत्ताको दुरुपयोग गरी सांसद शर्मालाई पक्राउ गरिएको भन्दै आपत्ती जनाएको हो ।

    मोरङको क्षेत्र नं.३ बाट निर्वाचित कांग्रेस सांसद शर्माले गत साउन १० गते संसद बैठकमा सुन तस्करीको विषयलाई लिएर आफ्नै पार्टीका अर्थमन्त्री डा.प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका थिए ।

    सुन तस्करीमा जो सुकै संलग्न भएपनि कारबाही गर्नुपर्ने धारणा राख्दै आएका सांसद शर्माले तस्करीको मुख्य नाइके पक्राउ नगरिए सदनमै आमरण अनशन बस्ने घोषणा समेत गरेका थिए । सांसद शर्माले सदनमा यस्तो अभिव्यक्ति दिएको १५ दिनपछि बिहीबार अपरान्ह करिब ३ बजे नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीको टोलीले काठमाडौंको गोल्फुटारस्थित निवासबाट उनलाई पक्राउ गरेको हो । संसदको अधिवेशन चालु रहेको अवस्थामा बहालवाला सांसदलाई सभामुखको अनुमति नदिई विना पक्राउ पुर्जी पक्राउ गरिएको भन्दै उनको सचिवालयले घटनाको भत्सना गरेको छ । जनताको पक्षमा आवाज उठाउँदा वाक स्वतन्त्रताको खिल्ली उडाउँदै सत्ता र शक्तिको चरम दुरुपयोग गरी पक्राउ गरिएको सचिवालयको ठहर छ ।

    ‘सुन तस्करीको बिषयलाई लिएर संघीय सदनमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको कारण संसदको अधिवेशन चालु रहेको अवस्थामा बहालवाला सांसदलाई सभामुखको बिना अनुमति र पक्राउ पुर्जी समेत जारी नगरी सीआइबीले क्रुरतापुर्वक  पक्राउ गरेको कुरा आम जनसमुदायमा जानकारी गराउँदछौँ,’ सांसद शर्माका स्वकीय सचिव विवेक लिम्बुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनताको पक्षमा आवाज उठाउदा गृहमन्त्री र प्रधानमन्त्रीले रिसइबी साध्ने मनसायले बर्बरताको नाङ्गो नृत्य प्रस्तुत गर्दै वाक स्वतन्त्रताको खिल्ली उडाउदै प्रजातन्त्रको मर्म बिपरित सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै सुन तस्करी काण्डका नाइकेहरूलाई कारबाहीको माग राख्दै उठाइएको आवाजलाई दबाउने नियतको घोर भर्त्सना गर्दछौँ ।’ यो कदमलाई वर्वर, अमानवीय र गैर प्रजातान्त्रिकको संज्ञा दिदै यसको सशक्त प्रतिकार गर्न पनि आम जनसमुदायलाई विज्ञप्तिमार्फत अपिल गरिएको छ ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर