काठमाडाैंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लायन्सका अन्तराष्ट्रिय डाइरेक्टर इन्डाेर्सी लायन बालकृष्ण बुर्लाकोटीलाई सम्मान गरेका छन् ।
नेपालका लायन्स लिडरहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज भएकाे भेटवार्तामा प्रधानमन्त्री दाहालले नेपाली लायन्सका लिडर, अन्तराष्ट्रिय डाइरेक्टर इन्डाेर्सी बुर्लाकोटीलाई अन्तराष्ट्रिय डाइरेक्टर बन्न लागेकाेमा बधाई दिदैं राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका हुन् ।
भेटमा प्रधानमन्त्री दाहालले लायन्सकाे अन्तराष्ट्रिय डाइरेक्टरमा नेपालका बुर्लाकाेटीले नेतृत्व गर्न लागेकाेमा अत्यन्त खुसी लागेकाे बताउदै लायन्स मार्फत नेपाल अन्तराष्ट्रिय जगतमा थप परिचित हुने विश्वास व्यक्त गरेका थिए ।
दाहालले २११ राष्ट्रमा फैलिएको लायन्सकाे नेटवर्कमा नेपालको प्रचारप्रसार हुने र नेपालकाे पर्यटन प्रबर्धनमा थप सहयाेग पुग्ने विचार व्यक्त गरे ।
भेटका क्रममा अन्तराष्ट्रिय डाइरेक्टर इन्डाेर्सी लायन बालकृष्ण बुर्लाकोटीले आफ्नाे भनाइ राख्दै प्रधानमन्त्री ज्युबाट पाएकाे याे सम्मानले अत्यन्त गाैरवान्वित बनाएकाे र सामाजिक कार्यमा अझै क्रियाशिल बन्न हाैसला मिलेकाे बताए ।
प्रधानमन्त्रीज्युबाट पाएकाे याे सम्मान सम्पुर्ण नेपाली लायन्सकाे सम्मान भएकाे अनुभुति गरेकाे बताउदै बुर्लाकोटीले आफु अन्तराष्ट्रिय डाईरेक्टरमा निर्वाचित भएपछि नेपालकाे लायनिजमकाे बिकाश र बिस्तारसँगै नेपालमा शिक्षा ,स्वास्थ्य र बातावरणकाे क्षेत्रमा कार्य गर्न लायन्स अन्तराष्ट्रियबाट ग्रान्ट ल्याउन पहल गर्ने प्रतिबद्दता जनाए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगकाे भेटमा आइडी इन्डाेर्सी बुर्लाकोटी सहित, उहाँका स्पाउस लायन ज्ञानु बुर्लाकाेटी, जिएटी एरिया लिडर लायन खगेन्द्र सिटाैला, लायन्स अन्तराष्ट्रिय मल्टिपल ३२५ नेपालका मल्टिपल काउन्सिल चेयरपर्सन लायन केशब पाण्डे, निबर्तमान काउन्सिल चेयरपर्सन लायन मन बहादुर राेक्का सहित बिभिन्न डिष्ट्रिक्टका पुर्व गभर्नरहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।
आगामी जुलाई ७ देखि ११ तारिखसम्म अमेरिकाको बोष्टनमा हुने लायन्सकाे अन्तराष्ट्रिय सम्मेलनबाट नेपालका लायन लिडर बालकृष्ण बुर्लाकाटी अन्तराष्ट्रिय डाइरेक्टर बन्दैछन । जसका लागी आइडी इन्डाेर्सी बुर्लाकोटी लायन्सकाे टिमसहित आज रातीकाे उडानबाट अमेरिकाको बोष्टन जादैछन् ।