• पुष २९, २०८२ सोमबार
    12 Jan, 2026, Monday

    त्रिविमा तालाबन्दीको असर: उपकुलपतिको कार्यकक्ष बन्द हुँदा अन्तर्राष्ट्रिय प्रतिनिधि फर्किए %


    २०८२ पुष २६, शुक्रबार
    त्रिविमा तालाबन्दीको असर: उपकुलपतिको कार्यकक्ष बन्द हुँदा अन्तर्राष्ट्रिय प्रतिनिधि फर्किए %

    २०८२ पुष २६, शुक्रबार

    काठमाण्डौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपत प्रा.डा दीपक अर्यालको कार्यकक्षमा तालाबन्दीका कारण भेट्ने वातावरण नहुँदा इन्टरनेशनल डेलिगेट्स (अन्तर्राष्ट्रिय प्रतिनिधि) नै फर्किएका छन् ।

    १८ पुसदेखि आफ्नो कार्यकक्षमा ताला लागेकाले भेट्ने वातावरण नहुँदा अहिलेसम्म इन्टरनेशनल डेलिगेट्सको तीन समूह फर्किएको उपकुलपति अर्यालले शिलापत्रलाई जानकारी दिए ।

    ‘विश्व बैंकका प्रतिनिधि, एउटा जापानिज र एउटा चाइनिज समूह फर्कियो,’ अर्यालले भने, ‘विश्व बैंकका नेपाल प्रतिनिधिसँग मात्रै भेटेँ, इन्टरनेशनल डेलिगेट्ससँग होटलमा भेट्न जाने कुरा भएन, कार्यकक्षमा ताला लागेको छ ।’

    जापानिज र चिनिया समूहसँग विभिन्न विषयमा समझदारी र सहकार्य गरेर अघि बढ्ने योजना भए पनि भेट गर्ने वातावरण नहुँदा विश्वविद्यालयलाई नै घाटा भएको उपकुलपति अर्याल बताउँछन् ।

    विभिन्न माग राख्दै नेपाली कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले उपकुलपतिसहित त्रिविका रजिस्ट्रार र रेक्टर कार्यकक्षमा समेत १८ पुसदेखि ताला लगाएका छन् ।

    त्रिविका चार विभागहरू अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व शान्ति तथा विकास अध्ययन विभागको शुल्क समायोजनको माग राख्दै उनीहरूले ताला लगाएका हुन् ।

    उपकुलपति अर्यालले उनीहरूको माग आर्थिक पक्षसँग जोडिएकाले तत्कालै पूरा गर्न नसकिने र यसका लागि विभिन्न छलफल र परामर्श लिएर मात्रै निर्णय लिने बताएका छन् । तर त्यसका लागि पहिला आफूले आफ्नो कार्यकक्षमा बसेर काम गर्न पाउनुपर्ने उपकुलपति अर्यालको सर्त छ ।

    ‘उहाँहरूको मागको सन्दर्भमा विभिन्न छलफल र परामर्शहरू भइरहेका नै थिए, एउटा मिटिङले टुङ्गिने कुरो पनि होइन यो’ अर्याल भन्छन्, ‘ताला नलगाएको भए बरु यतिबेलासम्म केही न केही हुन्थ्यो होला, हुँदै छ है भनेर भन्दाभन्दै आएर ताला लगाइदिनुभयो, फेरि मैले मात्रै भनेर हुने विषय पनि होइन यो ।’

    विद्यार्थी संगठनले शुल्क घटाउन माग गरेका मध्ये तीन विभागमा क्रमश विद्यार्थी घट्दै गइरहेका छन् । त्यसैले पनि शुल्क समायोजन कसरी गर्ने भनेर विभाग प्रमुखका साथै लेखासँग पनि छलफल र परामर्श लिने काम गरिरहेको उनले जानकारी दिए ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर