काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु भएको छ । दुईपक्षबीच अहिले सवा ५ बजेबाट वार्ता सुरु भएको हो । वार्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरु भएको वार्तामा महासंघबाट संयोजक नानुमैया पराजुली,महासचिव तुलाबहादुर थापा,उपमहासचिव मदनराज जोशी,नेपाल शिक्षक संघको महासचिव ज्ञानेन्द्र रावल सहभागी छन् ।महासंघले निर्णायक बाहेकको वार्तामा दोस्रो तहका पदाधिकारीलाई मात्र सहभागी गराएको छ ।
मन्त्रालयको तर्फबाट मन्त्री विद्या भट्टराई, शिक्षासचिव दीपक काफ्ले, शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्री र शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटा छन् । वार्तामा सहभागिको फोटो खिच्न खोज्दा महासंघका प्रतिनिधिले इन्कार गर्दै वार्ता सफल भएमात्र खिच्ने उत्तर दिएका थिए । ३ बजेसम्मको आन्दोलन सकेर वार्तामा पुगेका थिए । शुरुमा वार्तामागको बारेमा छलफल भएको थियो । महासंघले आन्दोलन र वार्ता संगै लैजाने जनाएका छन् ।
महासंघले आफ्नो धारणा राखेपछि सरकारको तर्फबाट धारणा राख्नेछन् । महासंघले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, संसदको विशेष अधिवेशन बोलाउने र तत्काल बर्षेअधिवेशन बोलाएर ऐन जारी गर्ने रहेको छ । यी बुदामा सहमति हुन नसके आम शिक्षण हड्ताल जारी राख्ने जनाएका छन् । यसअघि बुधबार सर्तसहितमात्र वार्ता गर्ने अडान महासंघको थियो ।
महासंघको माग पुरा गर्न संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत उपसमितिको तीनदिनदेखि निरन्तर छलफलमा छन् । हालसम्म करिब ३० दफामा सहमति भएको छ । बाँकी दफा सहमति गर्न अझै सातादिन बढी लाग्ने अनुमान छ । विधेयकको मस्यौदामा १६३ दफा रहेको छ । शिक्षा समितिले दफामाथि छलफल गरेर सहमति जुटाउने प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो ।
३५ दिनको समय पाएको समितिले फास्ट ट्याकबाट छलफल चलाएको छ। गत वर्ष महासंघसँग भएको सहमति समावेश गर्दै विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने महासंघको माग हो । यथासिघ्र ऐन जारी गर्न माग गर्दै महासंले चैत २० गतेदेखि सडक आन्दोलन जारी गरेको थियो । २०८० भदौ २७ मा विधेयक संसदमा दर्ता भएको थियो । सरकारसंग असोज ५ र १२ गते११ बुँदे सम्झौता भएको थियो ।
आम शैक्षिक हडताल जारी गर्दै आन्दोलनरत शिक्षकले सोमबार टर्चबालेर सरकार खोजेका थिए । महासंघले हिजो माइतीघरबाट हात उठाएर प्रदर्शन गरेका थिए । उनीहरुले फरक फरक सिर्जनशिल काम गर्दै प्रदर्शन जारी राखेका छन् । आज बबरमहलदेखि बानेश्वरको बाटो अवरुद्ध गरेर आन्दोलन गर्न खोज्दा प्रहरीसंग धकेलाधकेल भएको थियो । महासंघको माग सम्बोधन गर्न मंगलबार गृह र अर्थमन्त्रीसंग छलफल भएको थियो ।