• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    दिवा खाजामा रैथाने बालीकाे प्रयाेग : काेदाेकाे दुनाेटदेखि सिस्नुकाे आइसक्रिमसम्म


    २०८१ जेठ ११, शुक्रबार

    २०८१ जेठ ११, शुक्रबार

    काठमाण्डौंः म्याग्दीका विद्यालयमा रैथाने बालीका परिकार बनाएर दिवा खाजामा प्रयोग गर्न थालिएको छ । चाउचाउ, बिस्कुटलगायत तयारी खानाको विकल्पमा विद्यालयले कोदोको दुनोट, केक, पिज्जा, अचार, भटमासको चिया, सेकुवा, अचार, फर्सीको जाम, टमाटरको केचप, सिस्नुको आइसक्रिमलगायतका परिकार प्रयोग गर्न थालेका छन् ।

    अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी पुनले विद्यालयमा ‘जङ्क फुड’ अर्थात् पत्रुखाना निषेध गर्नका लागि १, २, ३ र ६ नम्बर वडाका अभिभावक र चमेनागृह सञ्चालकलाई रैथाने बालीबाट खाजाको परिकार बनाउने सीप सिकाएको जानकारी दिनुभयो । बाँकी चार वटा वडामा पनि पोषणयुक्त खाजा बनाउने ज्ञान र सीप सिकाउने तालिम सञ्चालन गरिने उहाँले बताउनुभयाे । ‘आयातित अस्वस्थ्कर जङ्क फुडको विकल्पमा रैथाने खाद्यवस्तुबाट परिकारको प्रयोगमा जोड दिएका छौँ’, उहाँले भन्नुभयाे ।

    बेनी नगरपालिकाको कृषि शाखाले विद्यालयका २० जना चमेनागृह सञ्चालकलाई गएकाे हप्ता कोदो, गहुँ, आलु, भटमास, सिस्नु, फर्सीलगायतका रैथाने बालीबाट खाजाका परिकार बनाउने सैद्धान्तिक तथा व्यावहारिक ज्ञान सीप प्रदान गरेकाे छ ।

    धौलागिरि गाउँपालिका–३ मा रहेको धौलागिरि माध्यमिक विद्यालयका प्रधानाध्यापक रुपेश सुवेदीले स्थानीय खाद्यान्नबाट हरेक दिन फरकफरक परिकार बनाएर शिक्षक र विद्यार्थीले खाजा खाने गरेका बताउनुभयो । ‘अभिभावक भेलाबाट आइतवारदेखि बिहीवारसम्म खाने खाजाको तालिका नै बनाएका छौँ’, उहाँले भन्नुभयो, ‘खर्चको पनि बचत भएको छ ।’

    सरकारले प्रतिविद्यार्थी १५ रुपैयाँका दरले दिवा खाजाका लागि अनुदान दिने गरेको छ । बेनी नगरपालिका–४ डाँडाखेतको बालमन्दिर आधारभूत विद्यालयले दिवा खाजाका लागि विद्यालय परिसरको खाली जमिनमा तरकारी खेती गरेको प्रधानाध्यापक रामप्रसाद शर्माले बताउनुभयो ।

    बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेले अस्वस्थकर परिकारको प्रयोग घटाउन र रैथाने बालीका खाद्यान्न परिकारमा जोड दिएको बताउनुभयो । विद्यालयलाई ‘जङ्क फुड’ निषेधित क्षेत्र बनाउने तयारी गरेको उहाँले बताउनुभयो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर